काठमाडौं । उमेरले ७० वर्ष कटेका र त्यसैको आसपास रहेका नेताहरूको अनुहार वर्षौसम्म राजनीतिक दलको नेतृत्व र सत्ताको नेतृत्वमा रहनु नेपाली राजनीतिको परिचय बनेको छ । तर देश हाँक्ने तिनै मूल राजनीतिक दलका भ्रातृ संगठनमा भने नेतृत्व हस्तान्तरणका लागि उमेर हद लागू भएका छन् ।
युवालाई नेतृत्वमा ल्याउन प्रमुख दलहरूले आफ्ना विद्यार्थी संगठनहरूमा भने उमेर हद लागू गरेका छन्-अनेरास्ववियू, नेविसंघ, र अखिल क्रान्तिकारी सबैमा ३२ वर्षे सीमा तोकिएको छ। नाति पुस्तालाई उमेर हदको विधि बनाएका नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रजस्ता दलहरूको शिर्ष नेतृत्वलाई भने पार्टीमा उमेर हदको व्यवस्थाबारे सुन्नै मन लाग्दैन । परिणामत: कार्यकर्ता पंक्तिसमेत यसबारे बहस चलाउन सकिरहेका छैनन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै कार्यकर्तालाई सम्बोधन गर्दै नेतृत्वका लागि ७० वर्षको उमेर हदको मुद्दा नै असान्दर्भिक भइसकेको बताउनुभयो । अध्यक्ष ओलीले यस्तो भनाइ ३२ वर्षे उमेर हद लागू भएको आफ्नै पार्टीको भ्रातृ संगठन अनेरास्ववियुको कार्यक्रममा राख्नुभएको हो ।
उसो त एमालेको विधानमै रहेको ७० वर्षे उमेर हद ओलीले नै निलम्बन गर्नुभएको हो । पार्टी अध्यक्षले आफ्ना लागि उमेर हद निलम्बन गरेपनि नेतृत्वका आकांक्षी सहित निर्वाचनको तयारीमा रहेका विद्यार्थी नेताहरू भने उमेर हदकै कारण संगठनबाट बाहिरिए । संगठनमा उमेर हद स्वीकार्ने विद्यार्थी नेताहरू पार्टीका बारेमा बोल्नै कठिन मान्छन् ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेवि संघमा पनि ३२ वर्षकै उमेर हद लागू छ । तर माउ पार्टीमा ७० वर्ष नाघेका शेरबहादुर देउवा सभापति हुनुहुन्छ । कांग्रेसमा बेलाबेला पुस्तान्तरणको बहस नहुने होइन, तर उमेर विद्यार्थी संगठनमा उमेर हदलाई स्वागत गर्नेहरु पार्टीमा भने त्यो बहस आवश्यक नभएको तर्क गर्छन् ।
विधानमै वडादेखि केन्द्रीय नेतृत्वसम्मै अधिकतम दुई कार्यकालको व्यवस्थालाई नै कांग्रेसभित्रका नेता कार्यकर्ता पर्याप्त ठान्छन् । यता नेकपा माओवादी केन्द्रमा भने ३२ वर्षदेखि पुष्पकमल दाहालले स्थायी रूपमा पार्टीको नेतृत्व गरिरहनु भएको छ ।
पार्टीमा नेतृत्व परिवर्तनको बहस छेड्नेहरू आफैं किनारा लाग्ने वा पार्टीबाट बाहिरिने गरेका थुप्रै उदाहरण माओवादीमा छ । उसको भ्रातृ संगठन अखिल क्रान्तिकारीमा भने उमेर हद लाग्यो । अधिवेशनको मुखमा विद्यार्थीका प्रतिनिधिले मतदान मार्फत उमेर हद लगाए, जसबाट थुप्रै विद्यार्थी नेताहरु प्रतिस्पर्धाबाटै बाहिरिए ।
विद्यार्थीको मुद्दा विद्यार्थीले नै बोकून् भनेरै विद्यार्थी संगठनहरूले उमेर हद अपाएका छन् । तर राजनीतिक दलहरूको नेतृत्वमा पुस्तान्तरणको ढोका बन्द हुँदा भ्रातृ संगठनमा गरिएका सुधार सतही सुधारमात्रै हुने देखिन्छ ।
पार्टीहरूले विद्यार्थी मात्र होइन, पार्टी संरचनामा नै पुस्तान्तरण सुनिश्चित गर्ने वैधानिक तथा व्यावहारिक व्यवस्था जरूरी भइसकेको छ।
नेतृत्व उमेरले होइन, नेतृत्वको विचार र कार्यशैलीले गर्ने हो । तर त्यसो भन्दैमा चालिसौं वर्ष उहि व्यक्तिको नेतृत्व सफल हुन सक्दैन । त्यसरी नेतृत्वमा जरा गाडेर बसेकाहरुका लागि सम्मानजनक बहिर्गमनको विधि पनि हो- उमेर हद ।
युवा पुस्ताले देशको नेतृत्व गर्न नपाउने हो भने लोकतन्त्र भन्ने नाराले मात्रै अर्थ राख्दैन।