काठमाडौं । साढे ४ वर्षअघि संवैधानिक निकाय तथा आयोगहरुमा गरिएको ५२ जना पदाधिकारी नियुक्तविरुद्ध परेको रिटको निर्णय आज सुनाइने भएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले यससम्बन्धी निर्णय आज सुनाउन लागेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले माघ ३० गतेदेखि यो मुद्दाको निरन्तर सुनुवाइ गरेको थियो । जेठ २ गते अन्तिम सुनुवाइ गर्दै इजलासले आज निर्णय सुनाउने मिति तोकेको थियो ।
संवैधानिक परिषद्को सिफारिसमा सरकारले २०७७ माघ २१ मा ३२ जना र २०७८ असार १० गते २० जना पदाधिकारी नियुक्त गरेको थियो । तर ती नियुक्ति संविधानविपरित भन्दै सर्वोच्चमा १५ वटा रिट परेका थिए । तर रिटको सुनुवाइमा ढिलाइ हुँदै आएको थियो ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित सम्मिलित संवैधानिक परिषद्ले नियुक्त गरेका पदाधिकारीको मुद्दा उहाँले हेर्न नमिल्ने भन्ने विवादसमेत भएको थियो । त्यसपछी कायममुकायम प्रधानन्यायधीश दीपक कार्की, प्रधानन्यायाधीशहरु हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठले पनि मुद्दा टुंग्याउन चासो दिनुभएन । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्ति भएपछि भने रिटमा निरन्तर सुनुवाइ सुरु भएको थियो ।