मान्छे बाहेक केही निर्यात गर्न सकेनौं : देउवा

जेष्ठ २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
मान्छे बाहेक केही निर्यात गर्न सकेनौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मानिस बाहेक अरू निर्यात गर्न नसकेको बताउनुभएको छ । कांग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति शृंखलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले सीमानाकामा नेपाली नागरिकलाई धेरै दुःख दिन नहुने पनि बताउनुभयो । 

सभापति देउवाले भन्नुभयो, “बोर्डरमा धेरै दुःख दिनु हुँदैन नेपालीहरूलाई । खासगरी मान्छे बाहेक केही निर्यात नै छैन यहाँबाट । त्यस्तो अवस्था छ । अरू केही निर्यात गर्नै सकेका छैनौं । आयातमा भर पर्नुपर्ने कुरा छ ।”

उहाँले नेपाल आयातमा निर्भर रहेको भन्दै आत्मनिर्भरतातर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । सभापति देउवाले उद्योगपतिले उद्योग खोल्ने र व्यापारीले व्यापार गर्नुपर्ने बताउनुभयो । व्यापारी र उद्योगीहरुलाई उद्योग खोलेर व्यापार गर्न आग्रह गर्दै आफूहरू सहयोग गर्न तयार रहेको बताउनुभयो ।

उहाँले नेपालको उत्पादन गुणस्तरीय हुन सके विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिने बताउनुभयो । पहाडमा वृक्षारोपण गर्न र पहाड बचाउन जरुरी रहेको बताउनुभयो ।

सभापति देउवाले जलवायु परिवर्तनका कारणले नेपालका हिमालहरू नाङ्गो भइसकेको बताउनुभयो । उहाँले नेपालले ४० प्रतिशत जंगल बचाउँदा केही राहत भइरहेको बताउनुभयो । हिमाल बचाउन महत्त्वपूर्ण कदम चाल्नुपर्ने बताउनुभयो । 

जलवायु परिवर्तनका कारण नेपाल धेरै ठूलो समस्यामा पर्ने जिकिर गर्नुभयो । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले नमाने पनि अरू सबै देशले जलवायु प्रकोप न्यूनीकरणका लागि काम गर्नुपर्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.