
काठमाडौं । प्रमुख दलका नेताहरूले निर्वाचनले देशमा लोकतन्त्र सुदृढ बनाउँदै राजनीतिक स्थायित्व र सुशासन स्थापना गर्न योगदान गर्ने बताएका छन् ।
दलका नेताहरूले निर्वाचनले लोकतान्त्रिक प्रक्रियामार्फत संविधानलाई सही ट्र्याकमा फर्काएर देशलाई स्थिरता, स्थायित्व र सुशासनतर्फ अघि बढाउनुपर्ने उल्लेख गरेका हुन् । नेपाली कांग्रेसका सभापति गगन थापाले अनेक द्विविधाका बीच समयमै शान्तिपूर्ण रूपमा निर्वाचन गराएकामा निर्वाचन आयोग र सरकारको भूमिकाको प्रशंसा गर्नुभयो ।
नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रुपमा अभिव्यक्त भएको बताउनुभयो । सभापति थापाले मतदाताको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रतिको गहिरो विश्वासलाई पुष्टि गरेको र अर्कातर्फ राजनीतिक दल र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको बताउनुभएको हो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनले अराजनीतिक, अराजक तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्दै लोकतान्त्रिक प्रक्रियामार्फत संविधानलाई सही ट्र्याकमा फर्काएर देशलाई स्थिरता, स्थायित्व र सुशासनतर्फ अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले देशको शान्ति, सुव्यवस्था तथा राष्ट्रिय हितको रक्षा गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै निर्वाचनले सकारात्मक भूमिका खेल्नुपर्ने धारणासमेत राख्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पछिल्लो ‘नयाँ र पुरानो’ दलको भाष्य देशको हितमा नभएको बताउनुभयो ।
उहाँले नयाँ वा पुरानो भन्दा पनि ‘सही र गलत’ को भाष्य बनाउनुपर्नेमा जोड दिनुभयो । संयोजक दाहालले निर्वाचनले राष्ट्रलाई स्थायित्व र समृद्धिको बाटोमा लैजाने विश्वास व्यक्त गर्नुभएको छ । निर्वाचनलाई सामान्य मात्र नभएर असामान्य र राष्ट्रको भविष्यका लागि निर्णायक भएको उहाँको टिप्पणी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यो निर्वाचन विगतको भन्दा फरक रहेकाले देशमा परिवर्तन ल्याउने बताउनुभयो । काठमाडौं क्षेत्र नम्बर-३ को महांकालस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रमा मतदान गरेपछि प्रतिक्रिया दिँदै लामिछानेले परिणामका आधारमा यो निर्वाचन ऐतिहासिक हुने र जस्तोसुकै परिणाम पनि स्वीकार गर्ने बताउनुभएको हो ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा लोकतन्त्रले जितेको बताउनुभयो । उहाँले निर्वाचनमा मतदानको समय सकिएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशीला कार्कीले संविधानले दिएको जिम्मवारी पूरा गरेको भन्दै धन्यवाद दिनुभएको हो ।