काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले आज पनि अवरोध गरेका छन् । विपक्षी दलहरूले बैठक अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको छ ।
दिउँसो २ बजेका लागि बोलाईएको बैठक साढे ३ बजे सुरु भएको थियो । बैठक सुरु भएलगत्तै विपक्षी नेकपा माओवादी केन्द्र र रास्वपाका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको हो ।
भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले राख्दै आएको मागका विषयमा दलहरूबीच छलफल जारी रहेको र छलफल सकारात्मक बन्दै गएकाले बैठक आधा घण्टाका लागि स्थगित गरिएको सभामुख घिमरेले बताउनुभयो ।
प्रतिनिधि सभाको बैठक नियमित सञ्चालन गर्ने विषयमा यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र रास्वपावीच भएको छलफल निष्कर्षविहीन भएको थियो । बैठकमा माओवादी केन्द्र र रास्वपाले भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने अडान राखेका थिए । तर कांग्रेस सहमत नभएपछि बैठक निष्कर्षविहीन भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।
अहिले पनि दलहरुबीच प्रतिनिधि सभा बैठक सञ्चालन गर्ने विषयमा संसद् भवन बानेश्वरमै दलहरूबीच छलफल जारी छ ।
भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतेदेखि बजेट ल्याउने दिनबाहेक प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदै आएको छ । यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको मागबाट विपक्षी दल केही लचक देखिए पनि छानबिन समिति गठनको अडान छाडेका छैनन् ।
लगातार प्रतिनिधि सभा बैठक अवरुद्ध हुँदा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/२०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न सक्नुभएको छैन । त्यसैगरी राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन समेत पेश गर्न पाउनुभएको छैन ।