जुम्लाका अलपत्र योजना अघि बढाउन राजनीतिक दलको माग

जेष्ठ २०, २०८२ |डीबी बुढा
जुम्लाका अलपत्र योजना अघि बढाउन राजनीतिक दलको माग

जुम्ला । जुम्लामा अलपत्र परेका योजना अघि बढाउन स्थानीय राजनीतिकदलहरू एकमत देखिएका छन । अलपत्र योजनाको काम अघि बढाउने र विकास निर्माणमा देखिएका ढिलासुस्ती अनियमिता जस्ता कार्यहरु रोक्न उनीहरुले सक्रियता बढाएका हुन् ।

सोमबार प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई जिल्लाको विकासमा भइरहेको गतिविधिका बारेमा चासो दिन ध्यानाकर्षण गरेका हुन । खानेपानी, सडक, पुल, ढल व्यवस्थापन, करिडोर निर्माण, सिलेट बिछ्याउनेलगायतका योजनामा निकै ढिलासुस्ती भइरहेको उनीहरुको निष्कर्ष छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लामा भएको छलफलमा नेपाली कांग्रेसका कार्यबाहक जिल्ला सभापति कार्मा बुढाले जिल्लामा थुपै्र योजनाहरु अलपत्र रहेको भन्दै ती आयोजना अघि बढाउन प्रमुख जिल्ला अधिकारी गम्भीर रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष शान्तिलाल महतले विकास योजनामा भइरहेको ढिलासुस्ती र अनियमितता रोक्न प्रमुख जिल्ला अधिकारीले चासो नदिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘विकासे कार्यालय र ठेकेदारको मिलोमत्तोमै योजनाहरुमा ढिलासुस्ती भइरहेको छ । सम्बन्धित कार्यालय र निर्माण कम्पनीलाई सम्पर्कमा ल्याएर काम अघि बढाउन पहल गर्नुपर्याे ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक मक्करबहादुर भण्डारीले सदरमुकाम संगै जोडिएको चन्दननाथ १० मा सडक निर्माणका नाममा घर जग्गामा क्षति पु¥याउने र योजना अलपत्र पार्ने काम भइरहेको बताउनुभयो । विकासका नाममा सिंचाइ कुलो नै भत्काएर सडक खन्न थालेपछि अहिले धान रोपाइमा सास्ती भइरहेको उहाँको भनाइ थियो ।

पटकपटक सघन सहरी तथा भवन निर्माण आयोजनालाई आग्रह ग¥यौं,उहाँले भन्नुभयो,‘अलपत्र योजना अघि बढ्न सकेन् । प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण पछि पनि आयोजनाको काम अघि बढ्न सकेन भने जनता आन्दोलनमा आउन बाध्य हुनेछन् । जसको सम्पुर्ण जिम्मेवारी राज्यले लिनुपर्ने हुनसक्छ ।’

दलहरुले जुम्ला बसपार्क, नाग्म गमगडी सडकमा रहेका दुइ पक्की पुल, जुगाडखोला करिडोर, रंगशाला, खलंगामा ढुंगा बिछ्याउने, सभाहल निर्माण, बृहत धौलिगाड खानेपानी आयोजनाको काममा ढिलासुस्ती भइरहेको बारेमा ध्यानाकर्षण समेत गरे । प्रमुख जिल्ला अधिकारीलाई यिनै विषयमा विशेष चासो दिन समेत आग्रह गरे ।

वर्षात्को समय नजिकिँदै गर्दा जुगाडखोला करिडोरको आधारभुत काम समेत सकिएको छैन । खोलाको बीचमा ढुंगा र माटो थुपारिएको छ । यदी समयमै ढुंगा माटो हटाउन नसके घर जग्गामा जोखिम बढ्न सक्नेमा समेत ध्यानाकर्षण गरेका थिए ।

एक दशकदेखि अलपत्र सभाहलको पुरा हुन सकेको छैन । पुर्न निर्माणको लागि राजनीतिक प्रतिनिधि देखि प्रमुख जिल्ला अधिकारी कसैले ध्यान पु¥याउन सकेका छैनन् । एक अर्ब २६ करोड लागतमा सुरु भएको धौलिगाड खानेपानी आयोजना पनि अलपत्र परेको छ । कांग्रेसका कार्यबहाक सभापति कार्मा बुढाले अलपत्र आयोजनाका ठेकेदार, सम्बन्धित कार्यालय प्रमुख र सरोकारवालाको सर्वपक्षीय बैठकको आव्हान गर्न माग गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले अलपत्र आयोजनाका बारेमा लिखित रुपमै निवेदन दिएको भए एक्सनमा जान सहज हुने बताउनुभयो । ढिलै भएपनि जिल्लाका विकास निर्माण बारे दलहरुले राखेको चासोलाई सकरात्मक रुपमा लिएको उहाँको भनाइ थियो । सबै आयोजनाबारे सम्बन्धित पक्षबाट जानकारी लिएर छलफलको वातावरण बनाउने प्रतिबद्धता उहाँको छ ।

दलहरुका प्रतिनिधिले कुनै पनि योजनामा हचुवाका भरमा हात हाल्दा काम प्रभावित हुन सक्ने भएकाले विकासे कार्यालयका प्रमुख तथा निर्माण व्यवसायी संग बसेर आयोजनाहरु अघि बढाउने बारे छलफल गरिने उहाँले बताउनुभयो । 

छलफलमा नेपाली कांग्रेसका कार्यबाहक सभापति कार्मा बुढा, नेकपा एमालेका अध्यक्ष शान्तिलाल महत, नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक नवराज न्यौपाने र रास्वपाका जिल्ला संयोजक मक्कर बहादुर भण्डारीले जिल्लामा थुप्रै आयोजना अलपत्र रहेको र स्थानीय प्रशासनले ती आयोजना अघि बढाउन गम्भीरता पूर्वक ध्यान दिनुपर्ने बताएका छन् ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।