काठमाडौं । भिजिट भिसा प्रकरणमा छलफल गर्न बसेको कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकले आफू पदबाट राजीनामा दिन तयार रहेको बताउनुभएको छ । उहाँको तर्क छ, म निर्दोष छु र निर्दोष हुँदाहुँदै षड्यन्त्र गरी जबर्जस्ती नाम मुछ्न खोजियो ।
उहाँले आफू निर्दोष रहेको दलिल मात्रै पेश गर्नुभएन आफूमाथि पार्टीभित्रैबाट पनि प्रहार भएको भन्दै गुनासो गर्नुभयो । र भन्नुभयो, आफ्नै कारण पार्टीलाई हानि हुने अवस्था आए पदबाट राजीनामा दिन तयार छु ।
भिजिट भिसा प्रकरणमा सञ्चारमाध्यम, सामाजिक सञ्जालदेखि राजनीतिक दलहरूबाटै गृहमन्त्री रमेश लेखकका विषयमा टीकाटिप्पणी हुन थालेपछि सभापति शेरबहादुर देउवाले सोमबार पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाउनुभएको थियो । बैठकमा गृहमन्त्री लेखकलाई समेत बोलाइएको थियो । बैठकको सुरुमै सभापति देउवाले सार्वजनिकरूपमा उठेका प्रश्नका बारेमा लेखकलाई स्पष्ट पार्न समय दिनुभयो ।
उहाँले भिजिट भिसा र मानव तस्करी प्रकरणमा आफू निर्दोष रहेको दाबी गर्दै आफ्नो कुनै संलग्नता नहुँदा पनि पार्टीभित्रैबाट असहयोग भएको र सार्वजनिक बेइज्जती गर्ने काम भएको बताउनुभयो । असन्तुष्टिका बीच गृहमन्त्री लेखकले भन्नुभयो, यदि मेरो कारणले पार्टीमाथि कुनै आँच आएको छ भने म राजीनामा दिन तयार छु ।
मन्त्री लेखकका कुरा गम्भीरतापूर्वक सुनेपछि सभापति देउवाले उहाँलाई ढाडस दिँदै भन्नुभयो, राजनीतिमा यस्ता विषय कहिलेकाहीँ आउँछ सामान्य रूपमा लिनुस् र पदमा रहेर काम गर्नुस् ।
गृहमन्त्री लेखकको पार्टीभित्रबाट सहयोग नभएको भन्ने असन्तुष्टि नेता शेखर कोइराला लक्षित थियो । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नेता शेखर कोइरालाप्रति आक्रोश व्यक्त गर्दै पार्टीमा अनुशासनहीनता बढेको टिप्पणी गर्नुभयो । कोइरालाले सार्वजनिक रूपमै मन्त्रीले राजीनामा दिनुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति उपसभापति खड्काको कडा आपत्ति थियो ।
प्रवक्ता समेत रहेका प्रकाशशरण महतले पनि नेता कोइरालाले घटनाको यथार्थ नबुझी अभिव्यक्ति दिएको भन्दै उहाँसँग स्पष्टीकरण सोध्न माग गर्नुभयो ।
बैठकमा अधिकांश पदाधिकारीले शेखर कोइरालालाई मात्रै नभएर सुनिल शर्मा र राजेन्द्र बजगाईंलाई समेत सचेत गराउनुपर्ने माग राखे । त्यसमा महामन्त्री गगनकुमार थापाले पनि सहमति जनाउनुभयो । उहाँले मन्त्री लेखकमाथि लागेको आरोपको एकजुट भएर प्रतिरक्षा गर्नुपर्ने बताउनुभयो ।
पूर्वउपसभापति विजयकुमार गच्छदारले शेखर कोइरालालाई तत्काल बोलाएर गृहमन्त्रीविरुद्ध दिएका अभिव्यक्तिबारे सोधखोज गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै पूर्वउपसभापति गोपालमान श्रेष्ठले गृहमन्त्री लेखकको मात्र होइन नेपाली कांग्रेसलाई कमजोर बनाउन विपक्षीहरूले लगातार आक्रमण गरिरहेको भन्दै सचेत हुनुपर्ने बताउनुभयो ।
सांसद बजगाईंको प्रसङ्ग आएपछि बैठकमा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले सांसद बजगाईंले आफूविरुद्ध बोलेको र अप्ठेरो पारेको विषय पनि उठान गर्नुभयो ।
बैठकमा बोल्ने प्रायः सबै पदाधिकारी तथा पूर्वपदाधिकारीहरूले मन्त्री लेखकमाथि भइरहेको चौतर्फी आक्रमणको मिलेर सामना गर्ने तर राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका छन् ।
बैठकमा पूर्वमहामन्त्री शशांक कोइरालाले भने चुपचाप बस्नुभयो । तर बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकमाथि षडयन्त्र भएको पुष्टि भएको बताउनुभयो । उहाँले शेखर कोइराला, राजेन्द्र बजगाईं र सुनिल शर्मालाई स्पष्टीकरण सोध्दै कारबाही गर्नुपर्ने बताउनुभयो ।
कांग्रेसले गृहमन्त्री विरुद्ध उठेका आवाजलाई सामाजिक सञ्जालको अफवाहको संज्ञा दिए पनि नकार्न भनेको सकेको छैन । यस विषयमा मंगलबार बस्ने संसद् बैठकमा जवाफ दिने तयारी गृहमन्त्री लेखकले गर्नुभएको छ ।