काठमाडौं संसारकै अस्वस्थ सहरमध्ये चौथो स्थानमा

वायुको गुणस्तरमा आजपनि आएन सुधार, बाहिर निस्किंदा मास्क लगाएर मात्रै निस्किन सरकारको आग्रह
फाल्गुन २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं संसारकै अस्वस्थ सहरमध्ये चौथो स्थानमा

काठमाडौं । काठमाडौं आज समग्रमा संसारकै अस्वस्थ सहरमध्ये चौथो स्थानमा रहेको छ । काठमाडौंमा वायुको गुणस्तरमा अझै सुधार आउन सकेको छैन । सरकारले घरबाहिर निक्लदा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ ।

हिजोदेखि निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तहको नजिक रहेको छ । काठमाडौं संसारकै अस्वस्थ सहरमध्ये चौथो स्थानमा रहँदा पहिलो स्थानमा भारतको दिल्ली, दोस्रो स्थानमा पाकिस्तानको लाहोर र तेस्रो स्थानमा बंगलादेशको ढाँका रहेका छन् । प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सचेत रहन सबैलाई आग्रह गरेको छ । बाहिर निस्किंदा मास्क लगाएर मात्रै निस्किन आग्रह गरिएको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १ सय ९६ छ । २०० पुगे निकै अस्वस्थ मानिन्छ । १ सय ५० नाघ्नु भनेकै स्वास्थ्यका लागि हानीकारक मानिन्छ । नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३ सय १ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.