काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १५औं महाधिवेशन कहिले हुने टुंगो छैन । तर नेताहरूलाई महाधिवेशको सरगर्मीले छोइसकेको छ । आगामी महाधिवशेनमा सभापतिका आकांक्षीको देश दौडाहादेखि गुट–उपगुट निर्माण तीव्र छ । नेता शेखर कोइराला र महामन्त्री गगन थापाले भावी सभापतिको आकांक्षासहित देश दौडाहा तीव्र पारेका छन् ।
यसले अर्कोतर्फ सभापति शेरबहादुर देउवा निकट मानिएका पूर्वपदाधिकारीहरूको छटपटी सुरु भएको छ । उनीहरू एकजुट हुँदै सभापति देउवालाई आफूहरूको पक्षमा खुल्न दबाब दिन थालेका छन् ।
नेपाली कांग्रेसका नेताहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र प्रकाशशरण महतले यो हप्ताको सुरुमा गत आइतबार सानेपास्थित एक अपार्टमेन्टमा भावि नेतृत्वको विषयलाई लिएर बैठक गरेपछि अहिले पार्टीभित्र हलचल मच्चिएको छ ।
नेपाली कांग्रेसको विधानअनुसार लगातार दुई पटकभन्दा बढी सभापति बन्न नपाइने भएपछि सभापति शेरबहादुर देउवा भावी नेतृत्वको दौडभन्दा बाहिर हुनुहुन्छ । १५औं महाधिवेशनमा देउवा उम्मेदवार बन्न नमिल्ने भएपछि उहाँ निकट मानिएका नेताहरूमा भावी नेतृत्व अर्को समूहमा जाने हो कि भन्ने चिन्ता छ । किनकि सभापतिको आकांक्षासहित नेता शेखर कोइराला र महामन्त्री गगन थापा देश दौडाहा गरिरहनुभएको छ । कोइराला र थापालाई सभापति बन्नबाट रोक्न पूर्वपदाधिकारीहरूले एकजुट हुँदै सभापति देउवालाई दबाब दिन थालेका छन् ।
देउवा निकट मानिएका ११ जना नेताले गत फागुनमा बूढानीलकण्ठमै पुगेर आफूहरूमध्ये एक जनालाई नेता तोक्न आग्रह गरे । तर सभापति देउवा मौन बस्नुभयो । त्यसयता पनि निरन्तर बैठक र छलफलमार्फत उनीहरूले देउवामाथि दबाब बढाउँदै लगेका छन् ।
जेठ ४ गते पनि गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र प्रकाशशरण महतले सानेपास्थित एक अपार्टमेन्टमा बैठक गरी सरकारको कामकारबाहीको समीक्षा मात्र गरेनन् १५औं महाधिवेशन लक्षित छलफल गरे । त्यस्तै यो समूहका नेताहरूले लोकतन्त्र दिवसका अवसरमा पूर्वमहामन्त्री शेखर कोइरालाको निवास महाराजगन्जमा समेत चियापान कार्यक्रम गरी महाधिवेशनकै विषयमा छलफल गरेका थिए ।
त्यसअघि पूर्वउपसभापति विमलेन्द्र निधिको निवासमा भेटघाट र छलफल गरेका थिए ।
पछिल्लो समय सभापति देउवाले आफ्नो समूहको छुट्टै बैठक राख्न छोड्नुभएको छ । यसले पनि देउवाले शेखर र गगनमध्ये एकलाई भावी सभापतिमा अघि सार्न सक्ने र आफूहरू पछाडि पर्ने भय अरू नेतामा देखिन्छ । विगतदेखि नै सभापतिलाई सहयोग गर्दै आएका गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, १३औं महाधिवेशनमा सहयोग गरेका कृष्ण सिटौला, १४औं महाधिवेशनमा सहयोग गर्न आइपुगेका शंशाक कोइराला र प्रकाशमान सिंह र सभापति देउवाका विश्वासपात्र मानिएका प्रकाशशरण महत लगायतका नेताहरूको गठजोड छ । उनीहरू देउवामाथि दबाब बढाएर नेता तोक्नुपर्ने माग गर्दै आएका छन् ।
सरकार र पार्टी राजनीतिमा दबाब बढाउन थालेका नेताहरू जेठभित्रै काठमाडौंमा गोष्ठी गर्ने र सातै प्रदेश हुँदै जिल्ला तहसम्म पुग्ने तयारीमा छन् । अहिले यो समूहमा एकताबद्ध भएर लागेका प्राय: सबै नेता भावी सभापतिका आकांक्षी हुन् । तर महाधिवेशनसम्म देउवाले आफ्ना उत्तराधिकारी तोक्ने या खुला छाड्ने भन्ने यकिन छैन । जे भए पनि कांग्रेसको महाधिवेशनसम्म पुराना गुट भत्कने र नयाँ बन्दै जाने भने निश्चित जस्तै देखिएको छ ।