काठमाडौं । अत्यधिक भीडभाड भएपछि सेतो गुम्बा अस्थायी रूपमा बन्द गरिएको छ । सामाजिक सञ्जाल टिकटक लगायतबाट सेतो गुम्बा सर्वसाधारणका लागि समेत खुला भएको भ्रामक सूचना फैलिएपछि शनिबार एक्कासि भीडभाड भएको गुम्बा प्रशासनले जनाएको छ ।
यद्यपि हाल सर्वसाधारणका लागि गुम्बा खुला नगरिएको र ‘आध्यात्मिक रिट्रीट’ चलिरहेकाले विशेष परिचयपत्र भएका र पूर्वदर्ता गरेका भक्तहरूलाई मात्र प्रवेश गर्न अनुमति दिइएको प्रशासनले जनाएको छ ।
शनिबार भीडभाड र गर्मीका कारण मानिसहरू बेहोस भएको र बालबालिकाहरू अभिभावकबाट छुट्टिएको तथा स्थिति करिब करिब भागदौडमा परिणत भएको समेत गुम्बा प्रशासनले जनाएको छ ।
यस्तै स्थिति व्यवस्थित र सुरक्षित भएपछि छिट्टै गुम्बा सर्वसाधारणका लागि खुला गर्ने पनि प्रशासनले जनाएको छ ।