गाजामा इजरायली सेनाको आक्रमण तीव्र, २४ घण्टामा ७९ जनाको मृत्यु

जेष्ठ १०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
गाजामा इजरायली सेनाको आक्रमण तीव्र, २४ घण्टामा ७९ जनाको मृत्यु

काठमाडौं । अन्तर्राष्ट्रिय दबाब र आलोचनाका बाबजूद इजरायलले गाजामा आक्रमण झन् तीव्र बनाएको छ । शुक्रबार यताका २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट ७९ जनाको मृत्यु भइसकेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यो अवधिमा भएका आक्रमणबाट २११ जना घाइते भएका छन् । इजरायली आक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ५३ हजार ९०१ पुगेको छ भने १ लाख २२ हजारभन्दा बढी घाइते भएका छन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार गाजाको जावालीया शिविरमा भएको आक्रमणमा ५० जनाको मृत्यु भएको आशंका गरिएको छ । यस्तै, दक्षिणी गाजामा खाद्यान्न बोकेको ट्रक वरपर जम्मा भएका प्यालेस्टिनीमाथि भएको आक्रमणमा ५ जनाको मृत्यु हुनाको साथै ५० जना घाइते भएका छन् । 

इजरायली सुरक्षा बल (आईडीएफ) ले गाजामा १ सयभन्दा बढी हमासका केन्द्रमा आक्रमण गरिएको जनाएको छ । प्यालेस्टिनी लडाकु र उनीहरूले प्रयोग गरेका सुरुङका संरचनालाई निशाना बनाइएको आईडीएफले जनाएको छ ।

आक्रमणको अन्तर्राष्ट्रिय समुदायले भर्त्सना गर्दै तत्काल युद्धविराम गर्न बढाएका छन् । मानवीय सहायतासम्बन्धी राष्ट्रसंघका पूर्वप्रमुख मार्टिन ग्रिफिथले पछिल्लो समय इजरायलले गाजामाथि गरेको आक्रमण सबैभन्दा खराब रहेको बताउनुभएको छ ।

यसैबीच, युद्ध अन्त्य गर्नुपर्ने माग गर्दै गाजाको सीमामा इजरायलविरुद्ध प्रदर्शन भएको छ । इजरायलले 'गिडिओन्स च्यारिओट्स' नाम दिएर गाजाविरुद्ध आक्रमण तीव्र पारेको छ भने अर्को चरणमा गाजामाथि पूर्ण नियन्त्रण कायम गर्ने हिसाबले कारबाही गर्ने तयारी भएको अल जजीराले जनाएको छ ।