राजनीतिक नेतृत्व नालायक भयो, राज्य दोहनतिर लाग्यो : नेता भुसाल

जेष्ठ ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
राजनीतिक नेतृत्व नालायक भयो, राज्य दोहनतिर लाग्यो : नेता भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले गणतन्त्रलाई चाहिएको राजनीतिक नेतृत्व नालायक हुँदा मुलुकमा रोजगारी सिर्जना र सुशासन कायम हुन नसकेको टिप्पणी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक समस्या र समाधान सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै भुसालले सत्तामा टिकिरहनका लागि गणतन्त्रको कार्यकारी नेतृत्वले राज्यको स्रोत दोहन गरेको बताउनुभयो ।

उहाँले नाफा कमाउने तर उद्यम नखोल्ने पूँजीपति र नकमाएको सम्पत्तिमा बाँच्ने नेताहरूबीचको गठबन्धन नै मुलुकको विकास र सुशासनका प्रमुख कारण भएको टिप्पणी गर्नुभयो । भुसालले दलाल पूँजीवाद, भ्रष्टाचार र बेरोजगारीको शृंखलालाई गणतन्त्रको मूल संकटको रूपमा चित्रण गर्दै नेतृत्व परिवर्तनले मात्र संकटबाट बाहिर निस्कन सकिने बताउनुभयो । उहाँले आफूलाई गणतन्त्रको कार्यकारी नेता भन्नेहरूले पद छाड्न जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो गणतन्त्रलाई चाहिएको लिडरशिप जुन थियो त्यो नालायक भयो । त्यो राज्य दोहनतिर लाग्यो जसले गर्दा रोजगारी र सुशासनतर्फ त्यसले लगेन । सत्तामा रहनको लागि उसले राज्य दोहन गर्नुपर्यो । कतिपय मान्छेले यो देश यसै बिग्रिएको हो भन्छन् । त्यसो होइन । नेताहरूको धेरै ठूला प्रयत्नले यो देश बिग्रिएको हो । नाफा कमाइरहने, उद्यम नखोल्ने पूँजीपति र नकमाएको सम्पतीमा बाँच्ने लिडरशिपको यो गठबन्धन जसलाई मैले दलाल पूँजीवाद भनेको छु । नेपालको विकासका सम्बन्धमा सबै पापहरूको बाउ त्यही नै हो जसले हाम्रो सुशासन र विकासलाई रोकेको छ । अब यसको समाधान भनेको म गणतन्त्रको कार्यकारी नेता हुँ भन्नेले त्यो ठाउँ छोडोस् ।”

मुलुकको मसस्या बुझेर तद्अनुसार काम गर्न नसके व्यवस्थालाई चुनौती दिने पात्रहरू समाजमा जन्मिरहने उहाँको टिप्पणी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.