राजावादीहरूको आन्दोलन प्रतिबन्ध गर्न सक्ने अधिकार सरकारलाई छ : सञ्चारमन्त्री

जेष्ठ ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
राजावादीहरूको आन्दोलन प्रतिबन्ध गर्न सक्ने अधिकार सरकारलाई छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादीहरूको आन्दोलनलाई प्रतिबन्ध लगाउने अधिकार सरकारलाई रहेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उहाँले राजतन्त्र पुनःस्थापना गर्ने कुरा संविधान विरोधी काम भएको उल्लेख गर्नुभयो । 

अहिलेसम्म सरकारले उदारतापूर्वक संविधानको विरोध, थापित लोकतन्त्रको मूल्य मान्यताको विरोध गर्ने र वर्तमान शासन प्रणाली उल्ट्याउन चाहनेहरूलाई पनि सभा, आन्दोलनका कार्यक्रम गर्न दिइरहेको बताउनुभयो । आन्दोलन गर्न दिने कुरा सरकारको कायरता नभई उदारता भएको र कमजोरी नठान्न चेतावनी दिनुभयो । संविधान, जनता विरोधी गतिविधि गरिराख्नेलाई सधैं छुट दिन नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सधैं यस्तो संविधान, जनता, व्यवस्था विरोधी क्रियाकलाप गरिराख्यो भने त्यो चिज सहेर बस्छौं भनेर हामी भन्न सक्दैनौं । सरकार सधैं टुलुटुलु हेरेर बस्दैन । त्यसको यथोचित प्रतिवाद हुन्छ सरकारको तर्फबाट । तर अहिले हामी सरकारको सबै गतिविधिलाई छोडिरहेका छौं । त्यो गतिविधिले कस्तो रूप लिन्छ, त्यसको आधारमा प्रतिक्रिया हुन्छ । यत्तिका धेरै मान्छेले रगत पसिना बगाएर, दुःख गरेर प्राप्त गरेको यो गणतन्त्रको रक्षा गर्नु हामी सबैको कर्तव्य हो । त्यो आन्दोलन गर्ने भन्ने कुरालाई आजका दिनसम्म प्रतिबन्ध लगाएका छैनौं । प्रतिबन्ध पनि लगाउनसक्ने छुट संवैधानिक अधिकार, कानुनी अधिकार सरकारलाई छ ।”

मन्त्री गुरुङले राजावादीहरूको आन्दोलनको गतिविधिले कस्तो रूप लिन्छ ? त्यही अनुसार सरकार अघि बढ्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित