काठमाडौं । सगरमाथा संवादमा सम्बन्धित संसदीय समितिका सदस्यहरुलाई उपेक्षा गरिएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सगरमाथा संवाद र समितिको प्रतिवेदनको विषयमा चर्काचर्की समेत भयो ।
सिंहदरबारमा आज बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा सांसदहरुले सगरमाथा संवादमा सम्बन्धित समितिका सदस्यहरुलाई नबोलाइएको भन्दै आपत्ति जनाएका हुन् ।
नेकपा एमाले सांसद सरस्वती सुब्बाले प्राकृतिक स्रोत समितिकै सदस्यहरुलाई उपेक्षा गरिएको भन्दै आपत्ति जनाउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले सभापति कुसुमदेवी थापाले आफूलाई मन परेका व्यक्ति छानेर सहभागी गराएको आरोप लगाएपछि समितिमा चर्काचर्कीसमेत भएको थियो ।
समिति सभापति थापाले वन मन्त्रालयलाई पटक-पटक सामेल गराउन आग्रह गर्दासमेत सरकारले चासो नदेखाएको बताउनुभयो ।
नेकपा एमाले सांसद सम्झना थपलियाले सगरमाथा संवादबारे सांसदहरुसँग छलफल नै नगरी सभापति थापाले निर्णय गरेको भन्दै आपत्ति जनाउनु भयो ।
केही सदस्यहरुले समितिको प्रतिवेदनमा सबै आदेश मात्रै रहेको भन्दै काम नलाग्ने भए आगो लगाइदिनुपर्ने भनेपछि बैठकमा फेरि विवाद भएको थियो ।
विवादकै बीच समितिले वार्षिक प्रतिवेदन पारित गरेको छ ।