कांग्रेस बैठकमा भक्कानिइन् माया राई, संवैधानिक निकायका कदममा प्रश्न उठाउन नहुने भन्दै देउवाको थुमथुम्याउने प्रयास

जेष्ठ ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस बैठकमा भक्कानिइन् माया राई, संवैधानिक निकायका कदममा प्रश्न उठाउन नहुने भन्दै देउवाको थुमथुम्याउने प्रयास

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले आफ्नो दलका नेताहरूमाथि सरकार पूर्वाग्रही भएको आरोप लगाएका छन् । भ्रष्टाचार मुद्दामा अख्तियारले मोहन बस्नेतमाथि मुद्दा चलाएकोमा उनीहरूले समान प्रकृतिका घटनामा एमालेका नेताहरूलाई भने उन्मुक्ति दिएको भन्दै आक्रोश पोखे ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उनीहरूले सांसद बस्नेतमाथिको मु्द्दा र माया राई पक्राउ प्रसंगमा एमालेप्रति असन्तुष्टि जनाएका हुन् । आगामी बजेटको विषयलाई लिएर दलको बैठकमा कांग्रेसका सांसदमाथि मुद्दा चल्ने र पक्राउ पर्ने तर एमाले सांसदलाई किन जोगाइयो भन्दै प्रश्न गरेका थिए । बस्नेत र राईलाई मात्र फसाइएको उनीहरूको आरोप थियो ।

सांसद माया राईले बैठकमा आफू संलग्न नै नभएको घटनामा फसाइएको भन्दै भक्कानिएको सहभागी अर्का सांसदले कान्तिपुरलाई बताए । तर सभापति देउवाले भने संवैधानिक निकायले लिएका कदममा प्रश्न उठाउन नहुने भन्दै सांसदहरूलाई थुमथुम्याउने प्रयास गर्नुभएको बैठकमा सहभागी सांसदले बताए ।

बैठकमा सांसदहरूले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिमा समेत प्रश्न उठाएका छन् । संसदको सबभन्दा ठूलो दलका नेतालाई १४ महिनापछि किस्तीमा राखेर प्रधानमन्त्री पद दिने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई हेपाहा प्रवृत्ति भन्दै त्यसको विरोध गरेका हुन् । त्यस्तै सांसदहरूले बजेटको मुखमा गभर्नर नियुक्ति हुन नसक्नुको कारण पनि सभापति देउवालाई सोधेका थिए । नेता शेखर कोइरालाले गभर्नरका नियुक्तिमा आर्थिक चलखेल रहेको भन्ने विषयमा सत्यतथ्य प्रस्ट पार्नुपर्ने माग गर्नुभयो ।

कांग्रेस सांसदहरूले जेठ १५ गते सार्वजनिक हुने बजेटमा कांग्रेसले नेतृत्व गरेका मन्त्रालय र सांसदहरूको क्षेत्रमा कम भए त्यसको विरोध गर्ने समेत बताएका छन् ।

सत्ता घटक कांग्रेसभित्र केही यता सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि बढेको छ भने नेताहरूले सार्वजनिक मञ्चमा समेत यसबारे खुलेर बोल्न थालेका छन् । संसद्‌मा प्रि-बजेट छलफलमा कांग्रेस सांसदहरूको निष्क्रियबारे भने एमाले सांसदहरूले नै पनि प्रश्न उठाएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.