प्रधानमन्त्री ओलीको दाबीः नेपालमा कुनै संकट छैन

जेष्ठ ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओलीको दाबीः नेपालमा कुनै संकट छैन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै संकट नरहेको बताउनुभएको छ । शनिबार मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । 

उहाँले कुनैपनि कुराको संकट नभएकाले ढुक्क भएर आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभयो । उहाँले आफूहरूलाई मार्ग निर्देश गर्न माक्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद रहेको बताउनु भयो । 

उहाँले आफूहरूका प्रेरणाका श्रोत दन भण्डारी, जीवराज आश्रित जस्ता महान नेताहरू रहेको र उहाँबाट सही ढंगले वैचारिक हिसाबले मार्गनिर्देशन भइरहेको बताउनु भयो । 

प्रधानमन्त्री ओलीले आजको परिस्थिति एउटा अनुकुल परिस्थिति भएको र अनुकुल परिस्थितिलाई प्रत्यक्ष राजनीतिक आक्रमण, दलगत आक्रमण र पार्टी विशेषलाई केन्द्रित गरी पार्टी अध्यक्षमाथि व्यक्तिगत रूपमा पनि केन्द्रित गरेर हमला भइरहेको बताउनु भयो । 

महाभारत युद्धको बेलामा युधिष्ठिरलाई घेराउ गरेको उदारहण दिँदै प्रधानमन्त्री ओलीले आफूलाई पनि त्यही हिसाबले घेर्ने काम भइरहेको बताउनु भयो । नेता ढल्यो भने पार्टी ढाल्न सहज हुने बुझाइले आफूमाथि प्रहार भइरहेको उहाँले जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफूहरू सत्यको मार्गमा रहेकाले अन्तिममा विजय सत्यकै हुने जिकिर गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.