लमजुङमा तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ४ जना घाइते

जेष्ठ ३, २०८२ |आश गुरुङ
लमजुङमा तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ४ जना घाइते

लमजुङ । लमजुङमा कांग्रेसनिकट युवा संगठन तरुण दलको जिल्ला अधिवेशनमा दुई पक्षबीच खुकुरी हानाहान भएको छ । सदरमुकाम बेंसीशहरमा शनिबार आयोजित पाँचौं जिल्ला अधिवेशन उद्घाटन सत्रको क्रममा विवाद हुँदा खुकुरी हानाहान भएको हो । 

घटनामा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले बताउनुभयो ।

बेंसीशहर नगरपालिका–९ का वडाध्यक्ष समेत रहेका तरुण दल क्षेत्रीय सभापति खुशीजंग गुरुङ, पार्टी जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेविसंघ केन्द्रीय सदस्य सुदीप अधिकारी, तरुण दलकै शंकर सापकोटा घाइते भएका हुन् । घाइते गुरुङलाई काठमाडौं र अधिकारीलाई भरतपुर रेफर गरिएको छ ।

टाउकोमा चोट लागेको र सिटीस्क्यान गर्नुपर्ने भएपछि उनीहरूलाई थप उपचारका लागि रेफर गरिएको हो । बाँकी २ जना प्रादेशिक अस्पताल लमजुङमा सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरी निरीक्षक तेलीले बताउनुभयो ।

जिल्लाको संस्थापन र इतर पक्षबीच पूर्णकालीन सदस्यता, प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा खुकुरी प्रहारसम्मको अवस्था पैदा भएको हो । पार्टी जिल्ला सभापति समेत रहेका गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री टकराज गुरुङ पक्षधरले पार्टी पूर्वसभापति एवं प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल पक्षका युवाहरूबीच खुकुरी हानहान भएको हो ।

पूर्णकालीन सदस्यता वितरणमा धाँधली भएको, प्रतिनिधि छनोटमा मनोमानी गरेको भन्दै इतर समूहका युवाले अधिवेशनको मञ्च अगाडि उभिएर विरोध गरेका थिए । उनीहरूले अधिवेशन स्थगित गर्न माग गरेका थिए । त्यसपछि संस्थापन पक्षका युवाले इतर समूहलाई कुर्सी प्रहार गरे । इतर समूहका युवा भाग्दा अधिवेशन स्थल बाहिर खुकुरी प्रहार भएको हो ।

अधिवेशन जेठ १० सम्मका लागि स्थगित गरिएको छ ।


Image

आश गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका लमजुङ संवाददाता हुन् ।