काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले फरक विचार भएकै आधारमा दमन गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले फरक विचार बोकेकै आधारमा राजसंस्था र हिन्दुराष्ट्र पक्षधरमाथि दमन गरिरहेको भन्दै आपत्ति जनाउनुभएको हो ।
उहाँले हिन्दु राष्ट्रको समर्थन, राजसंस्थाको पक्षधर, संघीयताविरोधी विचार राख्ने नागरिकहरूलाई लक्षित गरेर सरकारले दमन गरिरहेको आरोप लगाउनुभयो । देशमा सुशासनको माग गर्नेहरूलाई प्रताडित गर्ने हो भने सरकारले खुलेर बिद्रोहमा जाउ भन्नुपर्ने उहाँको तर्क छ ।
उहाँले सरकारले मानव अधिकार र संविधानले व्यवस्था गरेको सुविधाविरुद्धका क्रियाकलपा गरिरहेको भन्दै भर्त्सना गर्नुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका थुनामा रहेका नेता, कार्यकर्ताहरूलाई बिना सर्त रिहा गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।