एन्फा क्यालेन्डर : घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताले फुटबल चलायमान हुँदै

जेष्ठ ३, २०८२ |विनयज्योति सापकोटा
एन्फा क्यालेन्डर : घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताले फुटबल चलायमान हुँदै

काठमाडौं । २०८२ सालका लागि नेपालको फुटबल क्यालेन्डर निकै उत्साहपूर्ण देखिएको छ । क्यालेन्डमा वर्षभरि कुनै न कुनै प्रतियोगिता समावेश गरिएको छ । पहिलो पटक ६ महिना लामो लिग एन्फाले क्यालेन्डरमा समावेश गरेको छ । 

महिलाका प्रतियोगिताको पनि कमी छैन । क्यालेन्डर अनुसार भए युवादेखि सिनियरसम्मका घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताले यो वर्ष फुटबल चलायमान हुने देखिन्छ ।

व्यावसायिक फुटबलको विकास गर्न सबैभन्दा पहिले प्रतियोगिता सुनिश्चित गर्न आवश्यक हुन्छ । दर्शक, खेलाडी र अन्य स्टेकहोल्डरको तयारीका लागि समयतालिका पनि अर्को आवश्यक कुरा हो । यी दुई काम पूरा गर्न नसकेपछि अगाडि बढ्न नसकेको नेपाली फुटबलमा एन्फाले यो वर्ष ३४ भन्दा धेरै प्रतियोगिता गर्ने तालिका सार्वजनिक गरेको छ । 

यसले खेलाडी र समर्थकमा आशा जगाएको छ । गत वर्ष पनि यस्तै तालिका सार्वजनिक गरेको भए पनि ‘ए’ डिभिजन लिग, एन्फा प्रेसिडेन्ट लिग, राष्ट्रिय लिग जस्ता महत्त्वपूर्ण प्रतियोगिता नै भएनन् । यो वर्ष पनि ‘ए’ डिभिजनको समानान्तरमा ‘बी’ र ‘सी’ डिभिजन गर्ने योजना के सफल होला त ?

लगभग साढे २ वर्षपछि ‘ए’ डिभिजन लिग आयोजना गर्ने घोषणा गरिएको छ । गत वर्ष नभएका राष्ट्रिय लिग, फुटसल लिग, एन्फा प्रेसिडेन्ट लिग, पहिलो पटक गर्न लागिएको महिला फ्रेन्चाइज र फुटसल पनि आयोजना गर्ने गरी क्यालेन्डर बनाइएको छ । यो वर्ष महिला फ्रेन्चाइज फुटबलको पनि सुरुआत हुनेछ । एन्फाले यसअघि गर्न नसकेको नकआउट प्रतियोगितालाई पुनः मंसीरमा गर्ने योजना बनाएको छ ।

यो वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिताको पनि कमी छैनन् । सिनियर फुटबल टिम निरन्तर बन्द प्रशिक्षणमा छ । सिनियर पुरुष टिमका ६ खेल हुँदा महिला सिनियरका तीन प्रतियोगिता हुनेछन् । उमेर समूहका चार साफ च्याम्पियनसिप र एसियन कप समेत गरी यो वर्षको सबै फुटबल टिमले प्रतियोगिता खेल्ने अवसर पाउनेछन् । तर क्यालेन्डरमा सम्भावित सबै प्रतियोगिता राखिएको भए पनि केहीलाई वैकल्पिकमा राखिएको छ । तर एन्फाले सबै प्रतियोगिता आयोजना गर्न सक्ने गरी वातावरण बनाउन सके नेपाली फुटबल विकासमा निकै ठूलो काम हुनेछ । 

यो सँगसँगै नेपाली फुटबलको महत्त्वपूर्ण मानिएको गोल्डकप प्रतियोगिताबारे एन्फाले क्यालेन्डर बनाउनु आवश्यक छ ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।