संसद्‌मा विपक्षी दल : गभर्नर नियुक्तिदेखि प्राधिकरणको घाटासम्मका विषयमा सरकारको आलोचना

जेष्ठ १, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसद्‌मा विपक्षी दल : गभर्नर नियुक्तिदेखि प्राधिकरणको घाटासम्मका विषयमा सरकारको आलोचना

काठमाडौं । संसद्‍मा विपक्षी दलहरूले सरकारले गभर्नर नियुक्त गर्न नसकेको देखि विद्युत् प्राधिकरणको घाटा, संविधान संशोधन र कानुन निर्माण गर्न नसकेको सम्मका विषयमा सरकारको आलोचना गरेका छन् ।

प्रतिनिधि सभाको आज बसेको बैठकको शून्य र विशेष समयमा बोल्दै विपक्षी दलका सांसदहरूले गभर्नर नियुक्तिमा स्वार्थसमूह हाबी भएको आरोप लगाए । चुनाव लडेको मान्छेलाई कानुन विपरीत नियुक्त गर्न खोजिएको भन्दै उनीहरूले विरोध जनाए । विद्युत् प्राधिकरणमा अहिले भएको घाटाको विषयमा सरकारसँग सत्यतथ्य जानकारी दिन पनि उनीहरूले माग गरे ।

त्यसैगरी सांसद्हरूले हिजो सार्वजनिक भएको महालेखा प्रतिवेदनले देखाएको बेरुजुमाथि प्रश्न उठाएका छन । सत्तारुढ एमालेका सांसद ठाकुर गैरेले महालेखापरीक्षकको प्रतिवेदनले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको सरकारको कार्यक्षमतामाथि प्रश्न उठेको बताउनुभयो ।

सांसदहरूले नेपालमा विवाहितको भन्दा अविवाहितको कमाइमा बढी कर लाग्ने व्यवस्थाप्रति प्रश्न उठाउँदै राज्यको विभेदकारी कर हटाउनुपर्ने माग पनि गरेका छन् ।

नेपाली कांग्रेसका विमलेन्द्र निधिले आर्थिक वर्षको बजेट संघीय संसद्‍मा पेश गर्ने दिन परिवर्तन गर्न माग गर्नुभयो । सांसद निधिले जेठ १५ गते गणतन्त्र दिवस भएकाले त्यो दिन बजेट प्रस्तुत गर्दा व्यावहारिक नदेखिएको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.