काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने काममा अघि बढेको बताउनुभएको छ ।
शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा निर्मल लामा स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।
उहाँले फेरि कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने गरी आफूहरू अघि बढिरहेको उल्लेख गर्नुभयो । चुनौतिका विरुद्ध लड्ने संकल्पसहित फेरि विचार, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने गतिका साथ काम गरिरहेको उहाँको जिकिर छ ।
अध्यक्ष दाहालले अहिले प्रतिक्रियावादी, अवसरवादी अझ बढी आफूहरूविरुद्ध घेराबन्दी गर्ने, भ्रमहरू छर्ने काममा लागेको आरोप लगाउनुभयो । उहाँले नेताहरूलाई देवत्वकरण गर्न नहुने पनि बताउनु भयो ।
अध्यक्ष दाहालले समाजवादको बाटो तयार गर्न अविचलित भएर अघि बढ्नुपर्ने बताउनुभयो ।