संसद बैठकमा भारत-पाकिस्तान युद्धबारे चिन्ता

वैशाख २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसद बैठकमा भारत-पाकिस्तान युद्धबारे चिन्ता

काठमाडौं । प्रतिनिधिसभामा सांसदहरुले भारत-पाकिस्तानबीच भएको तनावले नेपाललाई पार्ने असरका बारेका गम्भीर छलफल थाल्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य तथा विशेष समयमा बोल्दै सांसदहरुले भारत पाकिस्तान तनावले नेपालमा पर्ने अल्पकालीन र दीर्घकालीन प्रभावको बारेका गम्भीर हुन सरकारलाई आग्रह गरेका हुन् । दक्षिण एसियामा हुने आत‌ंकवादबाट नेपाल प्रत्यक्ष/अप्रत्यक्ष प्रभावित भएको भन्दै त्यसबारे नेपालले आफ्नो स्पष्ट धारणा बनाउनुपर्ने नेपाली कांग्रेसका सांसद सञ्जय गौतम र लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्लाले बताउनु भयो । 

त्यसैगरी, सांसदहरुले पाकिस्तानी उच्चस्तरीय सैन्य टोलीको नेपाल भ्रमणको समय गलत भएको बताएका छन् । भ्रमण पूर्वनिर्धारित भए पनि भारत र पाकिस्तानबीच पछिल्लो विकसित घटनाक्रमलाई मध्यनजर गर्दै सरकारले कूटनीतक कौशलता देखाउन नसकेको कांग्रेस सांसद एनपी साउदको भनाइ थियो । 

बैठकमा सांसदहरुले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइबारे पनि चासो राखेका छन् । उनीहरुले तत्काल गभर्नर नियुक्त गरेर अन्योल हटाउन आग्रह गरेका छन् । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगीले नेपाल विद्युत् प्राधिकरण घाटामा गएको भन्दै सार्वजनिक गरिएको प्रतिवेदनबारे उर्जामन्त्रीसँग जवाफ माग्नुभयो । 

सांसदहरुले आफ्ना निर्वाचन क्षेत्रका सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरिदिन समेत सरकारलाई आग्रह गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.