काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले भारतस्थित नेपाली राजदुतावासले नेपालीहरूको दुःख र पीडामा बेवास्ता गरेको गुनासो भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले नेपालीहरू राजदुतावासमा कुनै सिफारिस लिन जाँदा चर्को शुल्क लिने गरेको गुनासो आएको बताउनुभयो । उहाँले भारतमा सन्तान जन्माएका नेपालीहरूले नेपाल फर्किएपछि नेपाली नागरिक लिन खोज्दा सकस परेको समेत गुनासो आएको बताउनु भयो ।
उहाँले भारतमा रहेका नेपाली उद्योगी तथा व्यवसायीहरूले नेपालमा लगानी गर्न खोज्दा सरकारले सहयोग नगरेको समेत जिकिर गर्नुभयो । कार्यवाहक सभापति अर्यालले भारतमा रहेको नेपालीहरूको समस्या सम्बोधनमा सरकारले चासो देखाउनुपर्ने बताउनुभयो ।
उहाँले भारतमा रहेका नेपालीहरूले नेपाल सरकारले तेस्रो दर्जाको व्यवहार गरेको गुनासो समेत आएको जिकिर गर्नुभयो ।