काठमाडौं । महिलाहरूले चुनौती र अवरोधलाई चिरेर अगाडि बढ्न सके समुदायलाई नै अगाडि बढाउने पुलको रूपमा स्थापित गर्न सकिने महिला अधिकारकर्मी तथा अभियन्ताहरूले बताएका छन् ।
कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी पत्रिकाद्वारा आज आयोजित 'निर्भीक नारी' कार्यक्रमका सहभागीहरूले नेपालमा अझै पनि लैंगिक विभेद रहेको उल्लेख गर्दै महिलाहरूले यस्ता चुनौती र अवरोधलाई चिरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त डा. लीली थापाले महिलाले गरेका रूपान्तरण र योगदानलाई इतिहासमा समेट्न नसकेको बताउनुभयो ।
कार्यक्रमको पहिलो सत्रमा 'अदृश्य अवरोध' मा पूर्वमन्त्री रामकुमारी झाँक्री, पूर्वराजदूत दावा फुटी शेर्पा, अधिवक्ता रोशनी पौड्याल र रोजिना राउतले महिलाका विचारलाई स्वीकार गर्न समाज तयार नरहेको धारणा राखेका थिए ।
दोस्रो सत्रमा 'किशोरावस्थाका कुरा' मा सहभागी स्कन्द स्वाँर, रीति महर्जन, सिल्भिया सिन्जाली मगर र अफ्रोजान सिमले अध्ययनलाई सीपसँग जोड्नुपर्नेदेखि, सीपलाई रोजगारसँग जोड्दै स्वदेशमै बसेर काम गर्ने अवसर पाउनुपर्ने धारणा राखे ।
यस्तै, मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडा प्रस्तोता रहेको तेस्रो सत्र 'कूटनीतिज्ञको आँखामा नेपाल' मा नेपालका लागि अस्ट्रेलियाली राजदूत लीन जोन्स्टोन, नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जो र यूएन वुमनकी नेपाली प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज प्याचेले नेपालमा पुरुषलाई पनि महिला अधिकारबारे पढाउनुपर्ने सुझाव दिएका थिए ।
उनीहरूले काठमाडौं उपत्यकामा शिक्षाको स्तर निकै राम्रो भए पनि सिंगो नेपालका लागि अवस्था उस्तै नरहेको बताए । यस्तै, महिलाहरुले अझै पनि लैंगिक विभेद सहनुपरेको कूटनीतिज्ञहरूको भनाइ छ ।
चौथो सत्र 'स्वतन्त्रता मेरो खुसी' का सहभागी हिमा विष्ट, श्रीधा राज्यलक्ष्मी शाह, इस्टु कार्की र अनमोल रानी राईले धर्मले अझै पनि महिलाका स्वतन्त्रतालाई बाँधेको र समाजमा नकारात्मक पक्षको खोजी हुने गरेको गुनासो गरेका थिए ।