सप्तरी । जनमत पार्टीका अध्यक्ष सीके राउतले नागरिक उन्मुक्ति पार्टीसँगकाे एकीकरणमा तत्काल ढिलाइ भए पनि नराेकिएकाे स्पष्ट गर्नुभएको छ । विभिन्न याेजनाहरूकाे शिलान्यासकाे क्रममा आज (बुधबार) राजविराज पुग्नुभएका अध्यक्ष राउतले पत्रकारसँगकाे कुराकानीमा यस्तो बताउनुभएको हाे ।
अध्यक्ष राउतले पार्टी एकीकरणमा राज्यसत्ता नै बाधक बने पनि एकीकरण नराेकिने समेत दाबी गर्नुभयाे ।
यसैबीच राजविराज नगरपालिका- १० बिरौलमा अध्यक्ष राउतले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको दाेस्रो पटक शिलान्यास गर्नुभएकाे छ । यसअघि २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले साेही प्रतिष्ठानकाे भर्चुअल शिलान्यास गर्नुभएकाे थियाे । २०७५ साल पुस १६ गतेको मन्त्रिपरिषद्ले राजविराजमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । तर, सो आदेशको म्याद गुज्रिसकेकोले अब नयाँ गठन आदेशानुसार मधेश प्रदेश सरकारकाे बजेटबाट पुर्वाधार निर्माण गर्न शिलान्यास गरिएको अध्यक्ष राउतकाे भनाइ छ ।
यसैगरी मधेश सरकारकै लागनीमा राजविराज- ९ मलेठमा गजेन्द्रनारायण सिंह स्मृति भवन र ओशो आश्रम तथा वृद्ध ध्यान केन्द्र भवनकाे पनि आजै शिलान्यास गरिएको छ । शिलान्यास समारोहमा मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहकाे समेत उपस्थिति थियो ।