काठमाडौं । शेयर निष्कासनका क्रममा धितोपत्र बोर्ड नेतृत्वका नाममा कमिसन मागिएको भन्ने समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन अघि बढाएको छ । अख्तियारको टोली आज दिउँसो बोर्डको कार्यालय ललितपुरको खुमलटारमा पुगेर के कति प्राथमिक शेयर तथा अन्य शेयर निष्कासनको प्रक्रियामा रहेका छन् भनेर सोधखोज गरेको छ ।
यो सँगै केही कागजात समेत अख्तियारको टोलीले लगेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अख्तियारको टोलीले जलविद्युत् आयोजनाका शेयर निष्कासनका लागि के कति आवेदन परेको छ भन्ने बोर्डका कर्मचारीहरूसँग सोधखोज गरेको थियो । त्यसपछि केही कागजात लगेर अख्तियारको टोली बाहिरिएको थियो ।
२२ महिनादेखि धितोपत्र बोर्डले अधिकांश जलविद्युत् आयोजनाको शेयर निष्कासन रोकेर राखेको छ ।