काठमाडौं । सभामुख देवराज घिमिरेले नेता परिवर्तन गर्ने नभइ जनताको सोचमा परिवर्तन हुन जरूरी रहेको बताउनुभएको छ ।
शनिबार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सभामुख घिमिरेले यथार्थ के हो भन्ने बारे नेपाली जनताहरूले हेर्ने काम कम भइरहेको बताउनु भयो । उहाँले कसैले बनाएको एउटा धारणालाई सही र गलत नछुट्याइ अघि बढ्ने परिपाटी विकसित भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले यथार्थलाई बुझ्ने, बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम हुँदै गएको बताउनुभयो । जनताको सोचमा परिवर्तन आउनुपर्ने समय आएको उहाँकाे भनाइ छ ।
जनताको सोच व्यवहारमा परिवर्तन हुन नसक्दा र कुप्रचारले महत्व पाएकोले सही विषय पनि गलत देखिन थालेको उहाँले बताउनु भयो । नेताको परिवर्तन प्रणालीले नै गरिरहेको पनि सभामुख घिमिरेले बताउनु भयो ।
सभामुख घिमिरेले अहिले राजनीतिमा अस्थिरता रहेको बताउनुभयो । देशमा बढिरहेको प्रणाली विरुद्धको अभियानलाई जनताले निगरानीका साथ हेर्नुपर्ने र सजगताका साथ व्यवहार गर्नुपर्ने आवश्यकता रहेको उहाँले जिकिर गर्नुभयाे ।