संविधान ल्याएँ भन्नेहरुले नै संविधान उल्लंघन गरे : राजेन्द्र लिङ्देन

वैशाख २७, २०८२ |भुवन पाण्डे
संविधान ल्याएँ भन्नेहरुले नै संविधान उल्लंघन गरे : राजेन्द्र लिङ्देन

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान ल्याएँ भन्नेहरुले नै संविधानको उल्लघंन गरिरहेको आरोप लगाउनुभएको छ । आफूहरुले यो संविधानमा असहमत र विमति राखेको भए पनि संविधानको पालना गरिरहेको दाबी गर्नुभयो ।

राप्रपा सिद्धार्थनगर नगर अधिवेशनको आज रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले यो संविधानमा राजसंस्था, हिन्दूराष्ट्र चाहिन्छ र संघीयता चाहिँदैन भनेर भन्न पाइँदैन भनेर कहाँ लेखिएको छ भन्दै प्रश्न गर्नुभयो । 

उहाँले संविधानलाई आफू खुसी व्याख्या गर्दै पार्टीका नेताहरुलाई थुनामा राखेको उहाँको आरोप छ । आफ्नो विचार राख्दैमा राजनीतिक दलमाथि प्रतिबन्ध लगाउन नपाइने उहाँले बताउनुभयो ।

विपक्षीहरुको आवाज थुनेर विकासको नाममा सरकारले भ्रष्टाचार गरिरहेको आरोप लिङ्देनको छ । भैरहवा विमानस्थलका लागि ३-४ सय विगाह जग्गा चाहिनेमा ८ सय विगाहा जग्गा किन खरिद गरियो भन्दै उहाँले प्रश्न गर्नुभयो । भ्रष्टाचार गर्नका लागि विमानस्थलको योजना बनाइएको उहाँको आरोप थियो ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।