काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रममा सत्ता साझेदार नेपाली कांग्रेसको तर्फबाट भएको विरोधलाई सत्तारुढ नेकपा एमालले आन्तरिक विवादलाई राष्ट्रिय राजनीतिमा मिसाउन खोजेको रूपमा बुझेको छ । पार्टी सचिवालयको बैठकपछि प्रतिक्रिया दिँदै अहिले नीति तथा कार्यक्रममा राखिएका कार्यक्रम कुनै दलगत नभएकाले पार्टीको आन्तरिक विषयलाई राष्ट्रिय राजनीतिमा मिसाउन नहुने प्रतिक्रिया एमालेले दिएको हो ।
उसले समृद्ध नेपाल, सुखी नेपालीको नारा नेकपा एमालेको मात्रै हो भन्ने रूपमा हेर्न नहुने समेत जनाएको छ ।
सचिवालय बैठकमा सरकारले ल्याएको नीति कार्यक्रममाथि छलफल गर्दै अघिल्ला वर्षको भन्दा यस वर्ष मूर्तरूपमा आएको ठहर गरेको छ । यस्तै आगामी बजेट पनि ठोस र परिणाममुखी हुनुपर्ने सुझाव सचिवाल बैठकले सरकारलाई दिएको छ । अघिल्लो वर्षजस्तो छरिएर बजेट ल्याउन नहुने भन्दै ठोस कार्यक्रममा केन्द्रित हुनुपर्ने सुझाव सचिवालयको छ ।
उत्पादन र उत्पादकत्वमा केन्द्रित गरी बजेट ल्याउन पनि सरकारलाई एमाले सचिवालय बैठकले सुझाव दिएको छ ।