काठमाडौं । आगामी जेठ पहिलो साता हुने 'सगरमाथा संवाद'मा जलवायु परिवर्तनको असर बेहोरेका आदिवासी, जनजाति, दलित, महिला, युवा, बालबालिका तथा सीमान्तकृत समुदायका एजेन्डासहितको प्रतिनिधित्व सुनिश्चित गर्न पिपुल्स फोरमले माग गरेको छ । आज काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा फोरमले सगरमाथा संवादमा जलवायु परिवर्तनको असर भोगेका समुदायका मुद्दा समेट्न सुझाएको हो ।
त्यस्तै जलवायु वित्त ऋणमा आधारित नभएर अनुदानमा आधारित हुनुपर्ने र त्यसका लागि कूटनीतिक पहलकदमी लिन पनि फोरमले माग गरेको छ । फोरमले जारी गरेको १२ बुँदे घोषणापत्रमा जलवायु न्यायका लागि लैङ्गिक समानता र महिला नेतृत्वलाई प्रवर्द्धन गर्नुपर्नेदेखि, पर्वतीय क्षेत्रमा प्राकृतिक दोहन निरुत्साहित गर्दै नवीकरणीय ऊर्जामा जोड दिनुपर्ने उल्लेख गरिएको छ ।
जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवादलाई लक्षित गरी सरकारी तथा गैरसरकारी संघ/संस्थाले छलफललाई तीव्र बनाएका हुन् । यसअघि 'साथसाथै फाउन्डेसन' ले वैशाख ९ गते सोलुखुम्बुको थामेमै पुगेर ५ बुँदे घोषणापत्र जारी गरेको थियो । त्यसैगरी वैशाख ९ र १० गते मुगुमा हिमाली संवाद र १३ गते काठमाडौंमा वायु संवाद लगायतका कार्यक्रम आयोजना भैसकेका छन् ।