संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी सिफारिसको प्रगतिबारे ओली र दाहालबीच छलफल

वैशाख २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी सिफारिसको प्रगतिबारे ओली र दाहालबीच छलफल

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न समितिले काम गरिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । दुवै नेताबीच सिफारिस समितिमा अहिले भइरहेका प्रगतिका विषयमा छलफल भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओली र दाहालबीच स‌ंक्रमणकालीन न्यायसम्बन्धी दुवै आयोगमा पदाधिकारी सिफारिस प्रक्रिया बढाउने विषयमा सकारात्मक छलफल भएको जनाइएको छ । प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी विज्ञ सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसहित छलफल भएको हो । 

बैठकपछि प्रतिक्रिया दिँदै उपमहासचिव पुनले अहिले प्रक्रिया सकारात्मक रूपमा अगाडि बढेको प्रधानमन्त्रीले आफूहरूलाई जानकारी दिएको बताउनुभयो ।

आजै बिहान पीडितहरूले प्रधानमन्त्री ओलीलाई भेटेर संक्रमणकालीन न्यायको कामलाई विश्वसनीय र पारदर्शी रूपमा अगाडि बढाउन आग्रह गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.