संविधान संशोधन गर्न कांग्रेस-एमालेले चासो दिएनन्ः माधव नेपाल

वैशाख १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
संविधान संशोधन गर्न कांग्रेस-एमालेले चासो दिएनन्ः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताउनुभएको छ । मे दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपालले संसारका अरू देशमा सबैभन्दा ठूलो सरकारमा र दोस्रो ठूलो पार्टी प्रतिपक्षमा बस्ने गरेको बताउँदै नेपालमा संसद्का दुबै ठूला राजनीतिक दल सरकारमा बसेको जिकिर गर्नुभयो । उहाँले संविधान संशोधन गर्ने भन्दै नेपाली काँग्रेस र एमाले मिलेर सरकार बनाएपनि उनीहरूको प्राथमिकतामा संविधान संशोधन नपरेको टिप्पणी गर्नुभयो ।

उहाँले सरकारले २०८७ मा संविधान संशोधन गर्ने भन्दै त्यसबाट पन्छिने काम गरेको जिकिर गर्नुभयो । उहाँले देशमा संविधान लागू भइसकेपछि १० वर्षको अभ्यासलाई मूल्याङ्कन र समीक्षा गर्नुपर्ने आवश्यकता पर्ने भएपनि नेपालमा त्यो हुन नसकेको बताउनुभयो ।

अध्यक्ष नेपालले संविधानमा जनताका मौलिक हक र अधिकारलाई सुनिश्चित गरिएपनि व्यवहारमा लागू हुन नसकेको धारणा राख्नुभयो । उहाँले संविधानमा लेखिएका जनताका हक तथा अधिकारलाई व्यवहारमा लागू गर्न चिन्तन र बहसको आवश्यकता महसुस नगरिएको उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले नेपालमा राजसंस्था फर्कने कुनै सम्भावना नरहेको बताउनुभयो । उहाँले इतिहासमा हराइसकेको राजसंस्थालाई फर्काउने कसैले कल्पना गरेको भए सपना नदेख्न आग्रह समेत गर्नुभयो ।

केही दिनअघि राजसंस्थालाई फर्काउन केही मान्छेहरूले कोशिस गरेको बताउँदै उनीहरूले हिंसात्मक र आफूहरूको वास्तविक रूप देखाएको जिकिर गर्नुभयो । उहाँले सोही दिन एकीकृत समाजवादी सहभागी समाजवादी मोर्चाले गरेको कार्यक्रम शालीन, प्रभावशाली र संस्कारी रहेको दाबी गर्दै त्यसले जनतामा उत्साह र सकारात्मक सन्देश दिएको जिकिर गर्नुभयो ।

उहाँले जनताका छोराछोरी राष्ट्रपति बन्ने चलनलाई अगाडी बढाउने र भएका कमी,कमजोरीहरूलाई सुधार गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्नेमा जोड दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.