काठमाडौं । अमेरिका र युक्रेनबीच बहुप्रतिक्षित खनिज सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार वासिङ्टन र किएभले संयुक्त रूपमा युक्रेनका खनिज स्रोतहरूको उत्खनन गर्नेछन् । विकासका लागि लाभदायक सम्झौता भएको युक्रेनले दाबी गरेको छ ।
युक्रेन र अमेरिकाले युक्रेनको पुनर्निर्माणमा लगानी गर्न संयुक्त कोषसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताको प्रारम्भिक मस्यौदामा अमेरिकालाई युक्रेनका नयाँ प्राकृतिक स्रोतसम्बन्धी सम्झौतामा प्राथमिक पहुँच दिइने उल्लेख गरिएको छ । त्यस्तै, सम्झौतामा वासिङ्टनले नयाँ सैन्य सहायता उपलब्ध गराउने र यसलाई कोषमा उनीहरूको योगदानको रूपमा गणना गरिने उल्लेख छ। दुवै देशले यो सम्झौतामा वासिङ्टनमा हस्ताक्षर गरेका हुन् ।
खनिजसम्बन्धी मस्यौदामा अमेरिकालाई युक्रेनका नयाँ प्राकृतिक स्रोत सम्झौताहरूमा प्राथमिक पहुँच दिइने उल्लेख गरिएको छ, तर यसले अमेरिकालाई स्वचालित रूपमा युक्रेनको खनिज सम्पत्ति वा ग्यास संरचनामा भाग नदिने पनि प्रष्ट बताइएको छ ।
उक्त सम्झौतामा युक्रेनको नयाँ प्राकृतिक स्रोत अनुमति पत्रहरूबाट राज्यलाई प्राप्त हुने नाफा र रोयल्टीको ५० प्रतिशत संयुक्त अमेरिकी-युक्रेनी पुनर्निर्माण कोषमा जाने व्यवस्था गरिएको छ ।
युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले युक्रेनको विकास र पुनरुत्थानमा संयुक्त लगानीका लागि यो सम्झौता वास्तवमै राम्रो, समान र लाभदायक अन्तर्राष्ट्रिय सम्झौता भएको बताए ।