काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनतासँग माओवादी तराई-मधेस जागरण अभियानअन्तर्गत करिब एक करोड नागरिकसँग प्रत्यक्ष संवाद गरिएको दाबी गर्नुभएको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा अभियानको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले हुलाकी राजमार्ग केन्द्रित अभियानबाट पार्टी र जनताबीचको सम्बन्धलाई अझ सशक्त बनाएको बताउनुभयो । उहाँले देशको स्वाधीनता, अखण्डता तथा सीमा सुरक्षाका सवालमा समेत अभियान प्रभावकारी भएको दाबी गर्नुभयो ।
हुलाकी सडकखण्ड हुँदै गरिएको अभियानले सीमावर्ती क्षेत्रका समस्या, सीमान्तीकृत समुदाय, शहीद तथा बेपत्ता परिवार, किसान, विपन्न वर्गदेखि उद्योगी-व्यवसायीका पीडा बुझ्ने अवसर दिएको उहाँको भनाइ छ ।
यी सन्देशलाई पार्टीको भावी योजनामा समेटिने अध्यक्ष दाहालले बताउनुभयो । झापाको कचनकवलबाट गत फागुन १२ गते सुरू भएको अभियान तराई-मधेसका विभिन्न जिल्ला हुँदै सुदूरपश्चिमको कञ्चनपुर पुगेर टुङ्गिएको हो ।