काठमाडौं । सिफारिस समितिमा रिक्त एक सदस्यको नियुक्ति भएसँगै नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त गर्न बाटो खुलेको छ ।
मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गभर्नर सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि समितिमा सदस्य रहेका पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि पद खाली थियो । सिफारिस समिति अपूर्ण हुँदा गभर्नर सिफारिस हुन सकेको थिएन ।
राष्ट्र बैंक ऐनले गभर्नर नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गर्नुपर्ने र सो समितिले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ ।
गत फागुनमै सरकारले नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको भए पनि बैठक बस्न नसकेको भन्दै भट्टराईले सदस्यबाट राजीनामा दिनुभएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भइसकेको छ । सत्तारुढ दुई दलबीच सहमति भएपछि भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिइसक्नु भएको छ ।