पहलगाम आतंककारी घटनापछि उत्पन्न तनाव कम गर्न अमेरिकाद्वारा भारत र पाकिस्तानलाई आग्रह

वैशाख १८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
पहलगाम आतंककारी घटनापछि उत्पन्न तनाव कम गर्न अमेरिकाद्वारा भारत र पाकिस्तानलाई आग्रह

काठमाडौं । अमेरिकाले जम्मु कश्मिरको पहलगाममा भएको आतंककारी आक्रमणको घटनापछि उत्पन्न तनाव कम गर्न मिलेर काम गर्न भारत र पाकिस्तान दुवैलाई आग्रह गरेकोछ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ र भारतीय विदेशमन्त्री एस जयशंकरसँग टेलिफोन संवाद गरी दक्षिण एसियामा शान्ति र सुरक्षा कायम राख्न आग्रह गर्नुभएको हो ।

रुबियोले पाकिस्तानका प्रधानमन्त्री शरिफलाई उक्त आतंककारी आक्रमणको स्पष्ट रुपमा भर्त्सना गर्न र त्यसको अनुसन्धानमा सघाउन आग्रह गर्नुभएको अमेरिकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । केही दिनअघि मात्रै प्रधानमन्त्री शरिफले पहलगाम घटनाको तटस्थ अनुसन्धानका लागि तयार रहेको बताउनु भएको थियो ।

यस्तै, भारतीय विदेशमन्त्रीसँगको कुराकानीमा रुबियोले आतंकवाद विरुद्धको लडाइँमा सहकार्यको प्रतिबद्धता व्यक्त गर्नुका साथै पहलगाम घटनापछि उत्पन्न तनाव कम गर्न इस्लामावादसँग संवाद कायम राख्न आग्रह गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । 

यस्तै, विदेशमन्त्री रुबियोले पाकिस्तानी प्रधानमन्त्री शरिफलाई पनि भारतसँगको प्रत्यक्ष संवादका माध्यमहरु पुनःस्थापित गर्न आग्रह गर्नुभएको थियो ।

एक जना नेपालीसहित २६ जनाको ज्यान लिनेगरी अप्रिल २२ मा जम्मु कश्मिरको पहलगाममा भएको आतंककारी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव उत्कर्षमा पुगेको छ । 

सीमानामा दुवै देशका सैनिकबीच छिटपुट गोली प्रहारका घटना भएका छन् भने दुवै देशले एक अर्काका कूटनीतिकलाई देश निकाला गर्ने र भिसा रद्द गर्ने, महत्वपूर्ण सन्धि निलम्बित गर्ने लगायतका कदम चालेका छन् । 

बुधवार मात्रै भारतले सबै पाकिस्तानी विमानलाई आफ्नो आकाशमार्ग बन्द गर्ने थप कदम चालेको छ । यसैगरी, बुधवार बिहानै पाकिस्तानी सञ्चारमन्त्रीले एक विज्ञप्ति जारी गर्दै भारतले २४ देखि ३६ घण्टाभित्र पाकिस्तानमा सैनिक कारबाही गर्न सक्ने विश्वस्त सूचना पाएको बयान दिनुभएको थियो ।

रुबियोसँगको वार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री शरिफले उक्त घटनासँग पाकिस्तानको सम्बन्ध जोड्ने भारतीय प्रयासलाई अस्वीकृत गर्नुभएको बीबीसीले उल्लेख गरेको छ । भारतले भने आक्रमणकारीहरुलाई पाकिस्तानको समर्थन र सहयोग रहेको आरोप लगाएको छ ।