कतार । कतारमा एक नेपालीले सञ्चालन गरेको कम्पनीले प्रतिष्ठित 'कतार सीएसआर अवार्ड-२०२५' प्राप्त गरेको छ । महोत्तरीकी यासमिन नाजको कम्पनी क्युएसटी ट्रेनिङ एन्ड कन्सलटेन्सीले यो अवार्ड प्राप्त गरेको हो ।
कतारको राजधानी दोहामा बुधबार साँझ आयोजित सीएसआर समिटका अवसरमा सीएसआर प्रमुख डा. सैफ अली अलहजरीले यासमिनलाई अवार्ड प्रदान गर्नुभयो । कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जासिम अल थानीको संरक्षणमा कतार विश्वविद्यालयले यो पुरस्कार वितरण गर्छ ।
सीएसआर अवार्ड कतारको सामाजिक क्षेत्रमा योगदान पुर्याउने कम्पनी तथा संस्थाहरूलाई प्रदान गरिन्छ । योसँगै यासमिनको कम्पनी सीएसआर अवार्ड प्राप्त गर्ने पहिलो नेपाली स्वामित्वको संस्था बनेको छ ।
यासमिनको कम्पनीले कतारमा रहेका नेपालसहित भारत, फिलिपिन्स, श्रीलंका, अफ्रिकालगायतका देशका विभिन्न क्षेत्रमा कार्यरत कामदारहरूलाई सशुल्क तथा निःशुल्क रूपमा शीपमूलक र वृत्ति विकासका लागि तामिल प्रदान गर्दै आएको छ ।
यो अवार्ड आफ्नो कम्पनीको मात्र नभई नेपालकै लागि गर्वको विषय भएको यासमिनले बताउनु भयो । उहाँले भन्नुभयो, 'हामीलाई विदेशमा हेर्ने दृष्टिकोण फरक छ, तर यसले हामी पनि अब्बल, सक्षम अनि सबै कुराको हकदार हौं भन्ने संदेश दिएको छ, यो नेपालकै लागि गर्वको विषय लाग्छ ।'