काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले असन्तुष्टिको कारोबार गर्न नहुने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले असन्तुष्टिको कारोबार नगर्न र असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने काम नगर्न सचेत गराउनुभएको हो ।
उहाँले राजनीतिक उपलब्धिहरूका सम्बन्धमा आम नागरिकमा सन्तोष रहँदै गर्दा पनि अहिले एउटा ठूलो बेचैनी, असन्तोष रहेको बताउनुभयो । उहाँले असन्तुष्टि र बेचैनीको मुख्य कारण राजनीतिक अवस्था पछाडि आम नागरिकहरूको अवस्थामा परिवर्तन नआउनु रहेको बताउनुभयो । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि असन्तुष्टि र बेचैनी हटाउनु रहेको बताउनुभयो । सरकारले अर्थतन्त्रमा देखिएका समस्या र संकटलाई समाधान गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “असन्तुष्टिको कारोबार गर्ने होइन । असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने होइन । त्यसलाई सम्बोधन गर्नुपर्छ । बेचैनीलाई हटाउँदै लिएर जानुपर्छ । त्यो बाटोमा अगाडि बढ्नुपर्छ भन्ने हामी ठान्दछौं । त्यही अनुरूप हामी अब काम गर्न चाहन्छौं ।”
महामन्त्री थापाले नेकपा एमालेसँग भएको सहकार्य अनुसार नै अघि बढ्ने र संघ वा प्रदेश कतै पनि राजनीतिक अस्थिरतामा नलाग्ने स्पष्ट पार्नुभयो । सरकारमा बस्नका लागि मात्रै नभई परिणाम दिने गरी काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।