काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्मचारीको राजनीतिक सम्बन्ध तोड्न पनि कम्तीमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्नैपर्ने बताउनुभएको छ ।बुधबार प्रतिनिधि सभाको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै सांसद थानीले अवकाशलगत्तै संवैधानिक र राजनीतिक नियुक्ति लिएर स्वार्थको खेल खेल्ने प्रवृत्ति कर्मचारीहरूमा हाबी भएको भन्दै यसलाई रोक्न पनि कुलिङ पिरियड राख्नैपर्ने जिकिर गर्नुभयो ।
उहाँले कुलिङ पिरियड नराख्दा समय समयमा सरकार परिवर्तन हुँदा त्यसको प्रभाव स्थायी सरकारमा समेत पर्ने गरेको बताउनुभयो । उहाँले ट्रेड युनियनहरूले विधेयकको लागि ७२ घण्टे अल्टिमेटम दिएको उल्लेख गर्दै नासुको विषयमा समेत सहमति गर्नुपर्ने बताउनुभयो ।
मंगलबारको बैठकमा दलगत ट्रेड युनियनका प्रतिनिधिहरूले पाँच वर्ष काम गरेका नायब सुब्बालाई एक तह र १० वर्ष काम गरेकाहरूलाई एक श्रेणी बढुवा गर्ने व्यवस्था गर्न माग गर्नुभएको थियो ।
सांसद थानीले भन्नुभयो, “नासुका आँसुमा भन्ने कुरामा ट्रेड युनियनहरूले भन्नुभएको छ । भोलि स्थायी सरकार सडकमा नउत्रियोस् । कुलिङ पिरियडको सम्बन्धमा एक वर्ष राख्नु हुँदैन । जसरी हामी एकोहोरो तरिकाले सरकार सरकारले चलाइराखेका छौं । त्यसकारण यसको अवधि दुई वर्ष हुनुपर्छ । नियुक्ति गर्ने कुरामा हामीले कुलिङ पिरियड राख्नैपर्छ । कर्मचारीलाई कुन दलको र कुन नेताको भन्ने कुरा अन्त्य गर्न पनि कुलिङ पिरियड अनिवार्य छ । कानुन र कूटनीति सेवामा पनि दुई वर्ष राख्नुपर्छ ।”
उहाँले सरकारको दबाबमा परेर नभई सर्वसहमतिबाट विधेयक पास गर्नुपर्ने बताउनुभयो । उहाँले स्थायी सरकार मानिने कर्मचारीहरूलाई सडकमा नआउने गरी ऐन निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।