काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताबीच विद्यमान राजनीतिक व्यवस्था र समावेशीता सहितको संविधान रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा आज छलफल भएको छ । बालुवाटारमा आज भएको छलफलमा संविधान उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्याउनेहरूप्रति सचेत हुँदै अघि बढ्न गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिको कामका बारेमा पनि जानकारी गराउने काम भएको प्रधानमन्त्रीका मानवअधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुनुहुन्थ्यो । यस्तै, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका मानवअधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार खरेल पनि छलफलमा सहभागी हुनुहुन्थ्यो ।