काठमाडौं । आपराधिक गिरोहका सदस्य भएको आरोपमा टेक्सासमा थुनामा रहेका केही भेनेजुएली नागरिकलाई तत्काल एल साल्भाडोर डिपोर्ट नगर्न अमेरिकाको सर्वोच्च अदालतले आदेश दिएको छ ।
नागरिक स्वतन्त्रता अधिकार समूह एसीएलयूले भेनेजुएली नागरिकलाई न्यायिक अवसर नदिएको भन्दै मुद्दा दायर गरेको थियो । राष्ट्रपति डनल्ड ट्रम्पले सन् १७९८ को ऐनका आधारमा उनीहरूलाई एल साल्भाडोरस्थित कुख्यात अपराधी राखिने जेलमा पठाउन आदेश दिनुभएको थियो ।
८ अप्रिलसम्म एल साल्भाडोर डिपोर्ट गरिएका २ सय ६१ भेनेजुएलालीमध्ये १ सय ३७ जना एलियन इनिमिज् एक्टअन्तर्गत भएको बताइएको छ । उक्त कानुनले सत्रु राष्ट्रका नागरिकलाई सामान्य कानुनी प्रक्रियाबिनै थुन्न वा निर्वासित गर्ने अधिकार दिन्छ । यो ऐन अहिलेसम्म केवल तीनपटक प्रयोग भएको बीबीसीले उल्लेख गरेको छ ।
ह्वाइट हाउसले भने गैरकानुनी रूपमा डिपोर्ट गर्न लागेको भन्ने विषयलाई निराधार भनेको छ । ह्वाइट हाउसकी प्रवक्ता कैरोलिन लेभिटले सरकारका कदम कानूनी रहेको र कट्टरपन्थीहरूले निराधार रुपमा सर्वोच्चमा मुद्दा दायर गरेको आरोप लगाउनुभयो ।
यसअघि, ट्रम्प प्रशासनले एमएस-थर्टिन गिरोहको सदस्य भन्दै त्रूटिवश भेनेजुएली नागरिक किल्मार अब्रेको गार्सियालाई एल साल्भाडोर निर्वासन गरेको थियो ।
गार्सियालाई अहिलेसम्म कुनै अपराधमा दोषी ठहर गरिएको छैन । अदालतले उनलाई अमेरिका फिर्ता ल्याउन आदेश दिए पनि ट्रम्प प्रशासनले अस्वीकार गरेको छ ।