काठमाडौं । बायर्न म्युनिख हाइडेनहाइममाथि ४-० गोलको जित हात पार्दै जर्मन लिग बुन्डेसलिगा उपाधिको नजिक पुगेको छ ।
हाइडेनहाइमको मैदानमा भएको खेलमा बायर्नले खेल सुरू भएको ३६ मिनेटभित्र तीन गोल गरेको थियो । १२औँ मिनेटमा हेरी केनले गोलको खाता खोले । उनको जारी सिजन यो २४औँ बुन्डेसलिगा गोल हो ।
१९औँ मिनेटमा कोमार लाइमरले अग्रता दोब्बर पारे । ३६औँ मिनेटमा किंस्ले कोमनले गोल गरेपछि बायर्नले पहिलो हाफमा ३-०ले खेल आफ्नो नियन्त्रणमा राखेको थियो । ५६औँ मिनेटमा जोसुवा किमिखले गोल थपे ।
यो जितपछि शीर्ष स्थानको बायर्नको ३० खेलबाट ७२ अंक पुगेको छ । जुन साविक विजेता बायर लिभरकुसेनभन्दा नौ अंकले बढी हो । दोस्रो स्थानको लिभरकुसेनको २९ खेलबाट ६३ अंक छ । १६औँ स्थानमा रहेको हाइडेनहाइमको ३० खेलबाट २२ अंक छ ।