काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन र भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन विधानले भने अनुसार समयमै गर्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले बताउनुभएको छ । नेविसंघ पूर्वअध्यक्ष समेत रहनुभएका महरले कांग्रेस खैरहनी नगर समितिको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
“कांग्रेसको विधान अनुसार २०८२ नेपाली कांग्रेसको महाधिवेशन वर्ष हो । हामीले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको महाधिवेशन गरिसक्नुपर्ने अवस्था हो तर भातृ संस्थाहरूले पार्टीले दिएको गाइडलाइन समेत पालना गरको देखिएन । समयमै भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन हुन नसक्दा पार्टी जीवनमै समेत असर परिरहेको छ”, उहाँले भन्नुभयो ।
आवधिक निर्वाचन प्रक्रिया सम्पन्न गर्ने बाटोमा नलागे कांग्रेसको लोकतान्त्रिक चरित्र हराउने पनि उहाँले बताउनुभयो । समयमै निर्वाचन सम्पन्न गराउन वडादेखि केन्द्रसम्मका जिम्मेवार नेता कार्यकर्ताहरूको सक्रिय भूमिका आवश्यक रहेको उहाँले बताउनुभयो ।
मुलुकमा राजनीतिक तरलता रहेको अवस्थामा कांग्रेस सबै क्षेत्रमा जिम्मेवारपूर्ण ढंगबाट प्रस्तुत हुनुपर्ने उहाँको धारणा छ । “पञ्चायतका प्रेतआत्माहरू सलबलाउन थालेका छन् । ती लोकतन्त्रको खिलाफमा छन् । उनीहरूलाई परास्त गर्नका लागि राजनीतिक दलका नेता कार्यकर्ताका चरित्र सुधार हुन जरुरी छ । अनि मात्र उनीहरू परास्त हुन सक्छन्”, महरले भन्नुभयो ।
यस्तै चैत २० देखि शिक्षा ऐन जारी गर्ने लगायतका माग गर्दै शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेकाले उनीहरूका माग सम्बोधनमा सरकार गम्भीर हुनुपर्ने पनि उहाँले बताउनुभयो । शिक्षकको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित हुनुका साथै कक्षा १२ को परीक्षा तोकिएको समयमा हुने नहुने अन्योल थपिएको तर्फ सरकार गम्भीर हुन नसक्नु चिन्ताको विषय भएको कांग्रेस शिक्षा विभाग प्रमुख समेत रहनुभएका महरको टिप्पणी छ ।