मेजर लिग सकरमा इन्टर मायामीकाे अपराजित यात्रा कायमै

वैशाख ७, २०८२ |खेल ब्युरो
मेजर लिग सकरमा इन्टर मायामीकाे अपराजित यात्रा कायमै

काठमाडौं । लियोनल मेसीको इन्टर मायामीले मेजर लिग सकरमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । मायामीले कोलम्बस क्रिउलाई १-० गोलले पराजित गरेको हो ।

अमेरिकाको ओहायोस्थित क्लिभलन्डमा आज बिहान सम्पन्न खेलमा मायामीले ३०औँ मिनेटमा अग्रता लिएको थियो । उसका लागि बेनामिन क्रिमास्कीले डाइभिङ हेडर गोल गरेका थिए । 

यही गोल मायामीलाई जितका लागि पर्याप्त बन्यो । क्रिमास्कीको सिजनका लागि यो पहिलो गोल पनि हो । पहिलो हाफको इन्जुरी समयमा मेसीले अग्रता दोब्बर बनाउने मौका गुमाएका थिए । 

२५ यार्डबाट उनले गरेको प्रहार बाहिरियो । दोस्रो हाफमा क्रिउले पुनरागमनको प्रयास गरे पनि मायामीका गोलकिपरले सफल हुन दिएनन् । मायमी आठ खेलबाट १८ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । 

चौथो स्थानमा रहेको क्रिउको ९ खेलबाट १८ अंक नै छ । जारी सिजन मायामी अहिलेसम्म अपराजित रहने एक मात्र टिम हो । यो खेल कोलम्बसबाट करिब एक सय ४५ माइल्स उत्तरमा सारिएको थियो । 

क्रिउका मालिक जिम्मी र डि हास्लमले खेलमा मेसीको उपस्थितिको फाइदा उठाउन यो निर्णय लिएका हुन् । उनीहरू एन एफ एल टिम क्लिभलन्ड ब्राउन्सका पनि मालिक हुन् । क्लिभन्डको स्टेडियममा भएको खेलमा किर्तिमानी ६० हजार ६ सय १४ समर्थक उपस्थित थिए । 

क्रिउको घरेलु मैदानमा भएको खेलमा यो अहिले सम्मकै उच्च दर्शक संख्या हो । यस्तै स्टेडियमको इतिहासमा एन एफ एलभन्दा बाहिरको इभेन्टमा यति धेरै दर्शक आएको पनि यो नै पहिलो पटक हो । 

सन् २०२३ मा मेसी आबद्ध भएयता यो सिजनको दोस्रो र समग्रमा नवौँ पटक मायामीको खेलमा ६० हजार भन्दा बढी दर्शक आएका हुन् ।