काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको नयाँ मिति तोकेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले आगामी फागुन ७ देखि ९ गतेसम्म चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।
यसअघि रास्वपाले यही वैशाख २५-२७ गतेसम्म महाधिवेशन गर्ने तय गरेको थियो । यस्तै असोजसम्म वडा अधिवेशन, कात्तिकसम्म पालिका, मंसिरसम्म जिल्ला र माघ १५ गतेसम्म प्रदेश अधिवेशन सक्ने निर्णय गरेको छ ।
बैठकले विद्यालय शिक्षा विधेयक चाँडै ल्याउन र शिक्षकका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने निर्णय गरेको छ । रास्वपाले संसद्को अधिवेशनमा सशक्त रूपमा प्रस्तुत हुने निर्णय पनि गरेको छ । आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने निर्णय गरेको हो । यसका लागि संसद्को १२ गतेदेखि सुरु हुने अधिवेशनमा सशक्तरूपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको हो । विद्यालय शिक्षा ऐन जारी गर्द माग गर्दै शिक्षकहरू १६ दिनदेखि आन्दोलनमा छन् ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीकी सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिनुभएको छ । पार्टीमा एक व्यक्ति एक पद लागू गर्नुपर्ने भन्दै उहाँले राजीनामा दिनुभएको हो ।