द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री

वैशाख ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वका समयमा भएका जघन्य अपराधका घटनालाई माफी दिन नसकिने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले द्वन्द्वको समय भएका अमानवीय तथा चरम यातना जस्ता जघन्य अपराधका घटनामा संलग्नमाथि छुट दिन नमिल्ने बताउनुभयो । 

उहाँले माफी दिन सकिने घटनाहरूलाई मेलमिलापको बाटोबाट अन्त्य गरिने बताउनुभयो । उहाँले सत्य निरूपण तथा मेलमिलाप आयोगले द्वन्द्वपीडितलाई न्याय दिलाउन सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले अहिले द्वन्द्वको अन्त्य र पीडितलाई न्याय दिने समय भएकाले कसैले पनि अन्यायमा पर्न नपर्ने बताउनुभयो । पीडितलाई परिपूरणको माध्यमबाट सरकारले न्याय दिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “द्वन्द्वकै समबन्धमा केही दिनअघि मैले भनेको थिएँ कि अमानवीय, जघन्य अपराधहरूलाई छुट हुँदैन । त्यस्तालाई माफी दिन सकिँदैन । त्यस्तो कुराहरूको सन्दर्भमा कारबाहीको विषय बन्छ । र अरू कुराहरू जुन माफी दिन सकिने खालका छन् त्यसमा माफी दिने मेलमिलाप दिने बाटो हुन सक्दछ । र पीडितहरूलाई परिपूरण जस्ता कुराहरूबाट सम्बोधन हुने कुराहरू पनि हुनेछन् ।”

प्रधानमन्त्री ओलीले द्वन्द्वपीडितहरूको न्यायका लागि वर्तमान सरकार र सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले लागिपरेको बताउनुभयो । द्वन्द्वपीडितको न्यायका लागि सबै दलहरूको साथ रहेको उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.