संयन्त्रको बैठकपछि गृहमन्त्रीको प्रतिक्रिया : सरकार र गठबन्धनमा कुनै समस्या छैन

वैशाख ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
संयन्त्रको बैठकपछि गृहमन्त्रीको प्रतिक्रिया : सरकार र गठबन्धनमा कुनै समस्या छैन

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले सरकार र गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट पार्नु भएको छ । बुधबार राति बसेको सत्ता साझेदार दलको बैठकपछि बाहिरिने क्रममा गृहमन्त्री लेखकले सरकार र गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट पार्नु भएको हो ।

गृहमन्त्री लेखकले ‘सरकारमा केही समस्या भयो कि’ भन्ने बाहिर आएको हल्ला सत्य नभएको दाबी गर्नुभएको हो । सरकारका बारेमा केही नेताहरूले बोल्नु भएको कुरा ‘व्यक्तिगत कुरा’ भएकोले टिप्पणी गर्न आवश्यक नभएको उहाँको भनाइ छ।

मन्त्री लेखकले दुई शीर्ष नेतासहित कार्यदल र संयन्त्रको बैठक बसेको र यो नियमित बैठक नै बसेको स्पष्ट पर्नु भयो। बैठकमा समसामयिक विषयमा छलफल भएको बताउनु भयो। सरकारको कामलाई अहिले नै दोष दिने बेला नभएको पनि गृहमन्त्री लेखकले बताउनु भयो।

विद्यालय शिक्षा विधेयकलाई कसरी अगाडि बढाउने र पास गराउने विषयमा सरकार गम्भीर भएको बताउनु भयो। यो अधिवेशन विद्यालय शिक्षा विधेयक टुङ्गो लगाउने गरि केन्द्रित हुने गृहमन्त्री लेखकले स्पष्ट पार्नु भयो ।

बैठकमा सरकारका कामकारवाही र सरकारबारे बाहिर चलेका चर्चाबारे छलफल भएको बताइएको छ । सरकारका काम र कार्यशैलीबारे सत्तासाझेदार दल नेपाली कांग्रेसका शीर्ष तथा प्रभावशाली नेताहरूले नै बिरोध गर्दै आउनु भएको बेला कार्यदल र संयन्त्रको बैठक बोलाइएको हो ।

हिजाेको संयन्त्रको बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा भने सहभागी हुनुभएको थिएन । नेता खड्का स्वास्थ्यका कारण र महामन्त्री थापा उपत्यका बाहिरबाट काठमाडौँ आउन ढिला भएकोले बैठकमा सहभागी नभएको प्रधानमन्त्रीको सचिवालय श्रोतले बताएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, नेकपा एमालेका महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी हुनुहुन्थ्यो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.