इजरायली सेनाले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा ६४ जनाको मृत्यु

वैशाख ६, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायली सेनाले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा ६४ जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा ६४ जनाको ज्यान गएको छ ।

इजरायली सेनाले गाजाका आवासीय भवन तथा पाल टाँगेर बसेका शिविरमा समेत बमबारी गरेको अल जजिराले जनाएको छ । इजरायली सेनाको हेलकोप्टरले बमबारी गर्दा दक्षिणी गाजाको खान युनिस क्षेत्रको अल मवासीमा विस्थापित भएर पालमा आश्रय लिइरहेका पाँच जनाको मृत्यु भएको छ । 

त्यस्तै इजरायली आक्रमणको निसानामा परेको एउटा सलुनमा ६ जनाले ज्यान गुमाएका छन् । यसैबीच विश्व स्वास्थ्य संगठनले गाजामा तत्काल खाद्यान्न आपूर्तिको खाँचो परेको जनाएको छ । हजारौं व्यक्ति भोकमरीको जोखिममा रहेकाले त्यहाँ तत्काल खाद्यान्न लैजान दिन इजरायललाई विश्व स्वास्थ्य संगठनले आह्वान गरेको हो ।

यसैबीच अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी गरेको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु भएको छ । यो आक्रमणमा १ सय २५ जना घाइते भएका छन् । 

आक्रमणबाट हुथी समूहको नियन्त्रणमा रहेको इन्धन बन्दरगाह ध्वस्त भएको छ । इरान समर्थित हुथी विद्रोहीका लागि आपूर्ति र कोषको स्रोत बन्द गर्ने उद्देश्यले त्यहाँ आक्रमण गरिएको अमेरिकी सेनाले जनाएको छ । 

लाल सागर र एडेनको खाडीमा रहेका गैरसैनिक र सैन्य पानीजहाजमाथिको आक्रमण रोक्न भन्दै अमेरिकाले गत मार्च १५ तारिखदेखि हुथी विद्रोहीमाथि दिनहुँजसो हवाई आक्रमण गर्दै आएको छ । 

विद्रोहीहरूले सन् २०२३ को अन्त्यतिर गाजामा प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै आक्रमण सुरू गरेका थिए । यसैबीच इजरायली सेनाले शुक्रबारको अमेरिकी आक्रमणपछि यमनबाट आउँदै गरेको क्षेप्यास्त्रलाई रोकेको जनाएको छ ।