आगामी महिना हुने फ्रेन्च ओपनको उद्घाटन समारोहमा नाडाललाई विशेष सम्मान गरिने

वैशाख ६, २०८२ |खेल ब्युरो
आगामी महिना हुने फ्रेन्च ओपनको उद्घाटन समारोहमा नाडाललाई विशेष सम्मान गरिने

काठमाडौं । आगामी महिना आयोजना हुने फ्रेन्च ओपनको उद्घाटन समारोहमा १४ पटकका कीर्तिमानी फ्रेन्च ओपन ग्रान्ड स्ल्याम विजेता राफायल नाडाललाई विशेष सम्मान गरिने भएको छ ।

गत वर्ष नाडालले, रोल्यान्ड ग्यारोसमा अलेक्जान्डर ज्भेरेभसँग पहिलो चरणमै पराजय भोगेका थिए । जुन उनको फ्रेन्च ओपनको सबैभन्दा छोटो यात्रा थियो । २२ पटकका ग्रान्ड स्ल्याम विजेता नाडालले नोभेम्बरमा डेविस कपमा स्पेनको तर्फबाट अन्तिम खेल खेलेर आफ्नो शानदार करियरबाट सन्यास घोषणा गरेका थिए ।

फ्रेन्च ओपनले सन् २००० की महिला विजेता मेरी पियर्स र यसपटकको प्रतियोगितापछि सन्यास लिन लागेका फ्रेन्च खेलाडी रिचार्ड ग्यास्केलाई पनि सम्मान गर्ने जनाएको छ ।

मे २५ देखि जुन ८ सम्म चल्ने प्रतियोगिताको कुल पुरस्कार राशी ५६ दशमलव ३५२ मिलियन युरो तोकिएको छ । जुन गत वर्षको तुलनामा ५ दशमलव २१ प्रतिशतले बढाइएको छ । 

हालै विश्वका शीर्ष खेलाडीहरूले चारै ग्रान्ड स्ल्याममा पारिश्रमिक वृद्धिको माग गर्दै पत्र लेखेका थिए । फ्रेन्च ओपनले यस विषयमा सकारात्मक छलफलका लागि खुला रहेको जनाएको थियो ।