वर्षा भएपनि काभ्रे हुँदै जाने दुवै राजमार्गमा छैन अवरोध

वैशाख ६, २०८२ |पुजन धिताल
वर्षा भएपनि काभ्रे हुँदै जाने दुवै राजमार्गमा छैन अवरोध

काभ्रे । जिल्ला हुँदै उत्तरी नाका तातोपानी जाने अरनिको र पूर्वको लाइफलाइनको रूपमा रहेको बीपी राजमार्गमा बिहानैदेखि वर्षा भइरहेपनि अवरोध नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख विकास तामाङका अनुसार बन्द भइरहेको अरनिको राजमार्गमा काभ्रेतर्फ समस्या नभएको र काभ्रे-भक्तपुर सिमाना क्षेत्रमा भने सवारी साधन उक्लन नसकेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, 'अहिले कुनै राजमार्ग अवरुद्ध छैन।' वर्षाका कारण बाटो हिलो र चिप्लो भएकाले सवारी साधन चलाउँदा वा हिँडडुल गर्दा ध्यान दिन सर्वसाधारणलाई अनुरोध समेत ट्राफिक कार्यालय काभ्रेका प्रमुख तामाङले गर्नुभयो।

यता, जिल्लाकै रोशी गाउँपालिकाको-६ हुँदै महाभारत गाउँपालिका क्षेत्रतर्फ जाने सडकमा भने सामान्य वर्षामै रोशी गाउँपालिकाको चौकीडाँडा–पोटाखोला–शिखरपाँगु जाने अस्थायी सडकमा सवारी आवागमनमा नै समस्या देखिएको छ। 

असोज दोस्रो साताको बाढीले उक्त सडक पूर्णरूपमा बगाएको थियो। हाल उक्त सडक हुँदै जाने सवारी साधन र स्थानीयले रोशी खोलाको किनारामा बनेको अस्थायी बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ।

पूर्वको लाइफलाइनको रूपमा रहेको बीपी राजमार्गमा पनि केही ठाउँमा बाटो हिलो र चिप्लो भएतापनि हालसम्म कुनै अबरोध नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।